वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार तयार छ : प्रधानमन्त्री



काठमाडौं,माघ ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताउनुभएको छ । शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले श्रममन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन तयार रहेको बताउनुभएको हो ।

वैदेशिक रोजगारीको क्षेत्रमा रहेका विकृति विसंगति रोक्न व्यवसायीको सहयोगको आवश्यकता रहेको समेत प्रधानमन्त्री दाहालले बताउनुभयो । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, पारदर्शी एवं प्रभावकारी बनाउने र गलत क्रियाकलाप निरुत्साहित गर्ने प्रक्रियामा केही प्रगति भइरहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले हरेक क्षेत्रमा जनता र राष्ट्रका निम्ति केही नयाँ शुरुआत गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । व्यवसायीले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्