मिटरब्याजी कारोबारको आरोपमा आचार्य प्रहरी नियन्त्रणमा



कपिलवस्तु,माघ ७ । गैर कानुनी मिटरब्याजी कारोबार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने रुपेन्द्र प्रसाद आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आचार्यले शिवराज नगरपालिका, विजयनगर गाउँपालिका लगायतका स्थानीय गैर कानुनी रुपमा धेरै जनालाई मिटरब्याजमा पैसा लागाएका थिए । जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुको प्रहरी टोलीले आचार्यलाई शुक्रबार चन्द्रौटाबाट अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिप्रका कपिलवस्तुले जनाएको छ । 

कपिलवस्तुका मिना उपाध्यय, हसन खान, डिल्ली बुढामगर लगायतले आचार्य विरुद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएका थिए । आरोपित आचार्यले रहटकोल गाउका एक जनालाई मिटरब्याजमा रकम दिएका थिए। ब्याजमा लिएको रकम दिन नसक्दा आचार्यले धेरै सताएको आरोप लागेको छ ।  मिटरब्याजमा लिएको ब्यक्तिको मृत्यु भएपछि आचार्यले उनको परिवारलाई सताउदै आएका थिए ।

आरोपित आचार्यलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।  नेपाल सरकारले मिटरब्याजीलाई गैर कानुनी मानेकाले  मिटरब्याजमा पैसा लगाउने आचार्यलाई अनुसन्धान गरि मुद्दा दायर गर्ने जिप्रका कपिलवस्तुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्