पाँच महीनामा साढे २ अर्बभन्दा बढीको प्याज आयात



काठमाडौं,माघ ९ । चालू आर्थिक वर्षको पछिल्लो ५ महीनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठूलो मात्रामा हुन्छ । तैपनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा ठूलो परिमाणमा भारतलगायत मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को ५ महीना (साउन–मङ्सिर) मा नेपालले विभिन्न मुलुकबाट २ अर्ब ६९ करोड ८० लाख रुपैयाँ बराबरको ७३ हजार २ सय मेट्रिक टन प्याज आयात गरेको छ ।

आव २०७७/७८ मा ४ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ बराबरको १ लाख २८ हजार ४ सय ५४ मेट्रिक टन प्याज आयात भएको देखिन्छ । आव २०७८/७९ मा यो परिमाण बढेर १ लाख ७३ हजार ८ सय २९ मेट्रिक टन पुगेको छ । त्यसका लागि ६ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ बाहिरिएको छ । नेपालमा करीब २० हजार हेक्टर जमीनमा प्याज खेती गरिन्छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार वार्षिक करीब साढे २ लाख मेट्रिक टनजति प्याज स्वदेशमा उत्पादन हुन्छ ।

प्याजको उत्पादन तथा प्रवर्द्धनमा सरकारले ठूला कार्यक्रम ल्याउन नसक्दा सम्भावना राम्रो हुँदाहुँदै पनि माग धान्ने गरी उत्पादन गर्न नसकिएको केन्द्रका बागवानी विकास अधिकृत सन्दीप सुवेदी बताउँछन् । यसले गर्दा वर्षेनि ठूलो परिमाणमा प्याज आयात गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

सुवेदीका अनुसार प्याजखेतीको सम्भावना राम्रो हुँदाहुँदै पनि बीउको समस्या ठूलो छ । नेपालमा अहिले प्रयोग भइरहेको बीउ उच्च गुणस्तरको नभएको र भारतबाट आयातित बीउ पनि सजिलै उपलब्ध नहुने हुँदा उत्पादन राम्रो गर्न नसकिएको उनको भनाइ छ ।

यसअघि सरकारले आव २०७६/७७ देखि ४ वर्षका लागि संघीय सरकारमातहत रहने गरी आलु र प्याज मिशन कार्यक्रम सञ्चालन गर्ने भनेको थियो । तर, त्यो हुन सकेन । त्यसअघि पनि सरकारले प्याजको उत्पादन बढाउन २०६४ देखि २०६९ सम्म सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा र रूपन्देहीमा ५० करोड रुपैयाँ खर्च गरेर कार्यक्रम सञ्चालन गरेको थियो । उत्पादन सामग्री खरीद र वितरणमा अनियमितता भएपछि कार्यक्रमले सफल रूप लिन सकेन । प्याज उत्पादन बढाउन केन्द्र तहबाट सरकारले हाल कुनै पनि कार्यक्रम सञ्चालन नगरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ । विगतको प्रयास सफल नभएपछि अहिले त्यस्तो कुनै कार्यक्रम नल्याएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्