नेपालमा छायांकन भएका विदेशी चलचित्र : पर्यटक आगमनमा सकारात्मक योगदान



काठमाडौं,माघ १५। नेपालमा छायांकन भएको भारतीय चलचित्र ‘उचाइ’ भारत, अमेरिका, मलेशिया, अस्ट्रेलियालगायत मुलुकमा प्रदर्शन हुँदा अहिले विश्वभर नेपालको चर्चा भइरहेको छ ।

त्यसको कारण हो, ‘उचाइ’को छायांकन विश्वकै अग्लो स्थानमा हुनु । सगरमाथा आधार शिविर (बेस क्याम्प)मा छायांकन भएको ‘उचाइ’ले नेपालकै उचाइ बढाइदिएको छ । उक्त फिल्ममा विश्वको अग्लो शिखर सगरमाथाका साथै नेपालको पर्यटकीय क्षेत्र मनाङ, लुक्ला र काठमाडौंको दृश्य छ ।

बलिउडका चर्चित सिने कलाकारहरू अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेरको मुख्य अभिनय रहेको ‘उचाइ’ गत कात्तिकमा रिलिज भएको थियो । ४५ करोड भारूमा बनेको फिल्मले ५० करोड कमाएको छ । कमाइका हिसाबले औसत फिल्म भए पनि यसको कथाले दर्शकको मन छोएको छ । त्यो भन्दा बढी फिल्मको छायांकन भएको ठाउँले धेरैको मन छोएको छ ।

लामो समयपछि बलिउडको चर्चित अनुहारसहितको फिल्म नेपालमा छायांकन भएसँगै सुस्ताएको नेपालको पर्यटन व्यवसायमा आशा जागेको छ । विगतमा पनि नेपालमा छायांकन भएका भारतीय चलचित्र प्रदर्शन हुँदा नेपाल घुम्न आउने भारतीयको संख्या बढेको तथ्यांक छ ।

नेपालमा काठमाडौं, पोखरा, मुस्ताङलगायत पर्यटकीय गन्तव्यमा बलिउडका साथै हलिउडका दर्जनौं चलचित्र छायांकन भएका छन् । नेपालमा छायांकन भएका चलचित्र अन्य मुलुकमा प्रदर्शन हुँदा नेपाल घुम्न आउने पर्यटकको संख्या उल्लेखनीय बढेको पाइन्छ ।

नेपालमा आउने पर्यटकमा सबैभन्दा बढी भारतीय हुन्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१० देखि सन् २०१९ सम्म ८३ लाख ३२ हजार पर्यटक नेपाल आएका थिए । तीमध्ये १८ दशमलव ६७ प्रतिशत (१५ लाख ५४ हजार) भारतीय थिए । नेपालको हिमाली क्षेत्रको पृष्ठभूमिमा छायांकन भएको ‘उचाइ’ले नेपालको पर्यटनमा सुधार ल्याउन योगदान गर्ने प्रबल सम्भावना रहेको सम्बद्ध व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्