चलनचल्तीमा रहेको नोट १६ अर्ब घट्यो



काठमाडौं,माघ १५ । चालू आर्थिक वर्षको पुसमा बजारमा चलनचल्तीमा रहेका १६ अर्ब रुपैयाँ बराबरको नोट घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्म बजारमा ६ खर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा छन् । गत मङ्सिरमा ६ खर्ब १६ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा थिए ।

राष्ट्र बैंकको वित्तीय विवरणअनुसार गत असारमा ६ खर्ब १२ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा थियो । त्यसपछि बढेर असोजमा ६ खर्ब ४९ अर्ब रुपैयाँ पुगेकोमा त्यसपछि भने क्रमशः घट्दै पुसमा ६ खर्बमा झरेको हो । विद्युतीय भुक्तानी उपकरण प्रयोगकर्ताको संख्या र कारोबार बढ्दा बजारमा प्रचलनमा रहेका नोट संख्यामा कमी आएको हो ।

यसैगरी पुसमा राष्ट्र बैंकले बैंक, वित्तीय संस्थालाई प्रदान गरेको ऋण पनि घटेको छ । २०७९ असारसम्ममा राष्ट्र बैंकले बैंक, वित्तीय संस्थालाई २ खर्ब ७१ अर्ब ७२ करोड ऋण तथा लगानी गरेकोमा पुससम्ममा ६२ अर्ब २६ करोड रुपैयाँमा झरेको छ । यसमध्ये रिपो ५० अर्ब, पुनर्कर्जा १२ अर्ब २१ करोड र एसएलएफ ६ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकले बैंक, वित्तीय संस्थालाई दिएको पुनर्कर्जा रकम फिर्ता भएपछि लगानी घटेको हो । यसैगरी गत असारमा नेपाल राष्ट्र बैंकमा २ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ रहेकोमा मङ्सिर हुँदा १ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्