टोखा–छहरे सडकको ‘इआइए’ प्रतिवेदन स्वीकृत हुने बित्तिकै चाइनाले सुरुङ मार्गको काम थाल्ने



काठमाडौँ,माघ १६ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा दुई देशको ऐतिहासिक सम्बन्धलाई असल छिमेकीका रूपमा अझै प्रगाढ बनाउने, निर्माण र पूर्वाधार अवस्था एवं सम्भावनाबारे महत्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठको विभिन्न चासो र सरोकारलाई राजदूत सोङ्गले जवाफ दिएका थिए।

त्यसक्रममा राजदूत सोङ्गले टोखा–छहरे सडकको ‘इआइए’ प्रतिवेदन स्वीकृत गर्ने बित्तिकै चाइनाले थप कदम अगाडि बढाउने जनाएका छन् । ‘फिजिबिलिटी’ अध्ययन सकिनेबित्तिकै केरुङ–काठमाडौं रेलवेको काम समेत अगाडि बढाइने सोङ्गले बताए । अरनिको राजमार्गको बिस्तार र मर्मतमा सहयोग गर्ने र नयाँ परियोजनाका लागि प्रस्तावहरू आएमा थप सहयोग गर्न तयार रहेको बताए। चिनियाँ निर्माण कम्पनीले ठेक्का पाएकामध्ये कलंकी–कोटेश्वर चक्रपथ, नारायणगढ–बुटवल सडक र मुग्लिन–पोखरा सडक बिस्तारमा असाध्यै ढिलाइ भएको र त्यसबाट जनताले सास्ती भोग्नुपरेकोमा समेत उपप्रधानमन्त्री श्रेष्ठले चासो राखेका थिए।

कलंकी–चाबहिल खण्डको केही स्थानमा अझै ‘साइट क्लिएर’ नभएको र नारायणगढ–बुटवल तथा मुग्लिन–पोखरा सडक निर्माण ढिलाइबारे आवश्यक समन्वय गरेर समयमै सम्पन्न गर्न सहयोग गर्ने राजदूत सोङ्गले बताए। उपप्रधानमन्त्री श्रेष्ठले संखुवासभा–किमाथांका नाका खुलाउनेबारे समेत राजदूत सोङ्गको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्