छुट्ला है ३४ करोडको आईपीओ: आवेदन दिने आज अन्तिम मौका, १ लाख कित्तासम्म भर्न पाईने



काठमाडौं,माघ १७ । माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ १३ गतेदेखि निष्काशनमा ल्याएको आईपीओमा आज मंगलबार बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ जारी गरेको हो । जस मध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्