सीतापाइला दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो



काठमाडौँ,माघ १७ । काठमाडौँ महानगरपालिका–१३ सीतापाइलास्थित सडकमा आज भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा मृत्यु हुने दुई पुगेका छन् । अन्य तीनजना घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

मंगलबार बिहान बा२ख ८३६८ नम्बरको बस र ना१ज २४२१ नम्बरको सुमो गाडी एकापसमा ठक्कर खाँदा बसमा सवार रसुवा गोसाइँकुण्ड गाउँपालिका–६ घर भई हाल काठमाडौँको पुतलीसडक बस्ने ५२ वर्षीया यायाल्म घलेको मृत्यु भएको थियो । पछि उपचारका क्रममा बसका सहचालकको मृत्यु भएको प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक अनिलकुमार घिमिरेले जानकारी दिए ।

साथै दुर्घटनामा बसमा सवार तीनजना घाइते भएका छन् । सुमोका चालकलाई नियन्त्रणमा लिइएको र हाल फरार बस चालकको खोजी जारी रहेको घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्