नुवाकोट म्यागङमा परम्परागत पहिरनमा विद्यालय सञ्चालन गर्न निर्देशन



काठमाडौं,माघ १७ । जिल्लाको म्यागङ गाउँपालिका मौलिक पहिरनको संरक्षण गर्ने अभियानमा जुटेको छ । बढ्दो आधुनिकीकरणले परम्परागत मौलिक पहिरन लोप हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै हप्तामा एक दिन मौलिक पहिरनमा नै विद्यालय सञ्चालन गर्न गाउँपालिकाले निर्देशन दिएको हो ।

विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक, शिक्षिका, विद्यार्थी सबैले हरेक हप्ताको बुधबार आ–आफ्नो जातअनुसारको पहिरन लगाउनैपर्ने गाउँपालिकाका अध्यक्ष आशा तामाङले बताए ।

‘जातीय पहिचानका रूपमा विशेषगरी पहिरनलाई लिने गरिन्छ । चाडपर्व, मेला, महोत्सव, घुमफिरमा जाँदा आधुनिक पोसाक लगाउने बानी बसिसकेको अवस्था छ । विद्यालय आउँदा विद्यालयको पोसाक अनिवार्य गरिएको छ । आफ्नो मौलिक पहिरनका बारेमा बालबालिका अनभिज्ञ हुने भएकाले पालिकाले यस्तो निर्णय गरिएको हो’, अध्यक्ष तामाङले भने, ‘मौलिक पहिरनका बारेमा बालबालिकालाई जानकारी दिन, जातीय/सांस्कृतिक पहिरनको संरक्षण गर्न यो अभियान सुरु गरिएको हो । जसले गर्दा बालबालिकालाई एकअर्का बीचको जातीय पहिरनका बारेमा पनि जान्ने अवसर सिर्जना हुने अपेक्षा गरेको छु ।’

गाउँपालिकाको शिक्षा ऐन, २०७८ बमोजिम सांस्कृतिक पहिरनमा विद्यालय सञ्चालन गर्न थालिएको हो । पालिकामा २२ वटा सामुदायिक विद्यालय र दुईवटा निजी विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्