वैदेशिक रोजगारीको डेस्क हटाइयो



काठमाडौं,माघ १८ । वैदेशिक रोजगारीमा जानेका लागि त्रिभुवन विमानस्थलमा राखिएको डेस्क हटाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जानेलाई विभेद नहोस् भनेर त्यस्तो डेस्क हटाइएको जानकारी दिए ।

मंगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले अबदेखि विद्यार्थी, पर्यटन, व्यावसायिक र वैदेशिक रोजगारी भिसामा जानेहरूको लाइन एउटै हुने बताए । वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी राखिएको डेस्कले विदेशमा रोजगारीका लागि जाने नेपालीको आत्मबलमा ठेस पुगेको उनको भनाइ छ ।

मन्त्री अर्यालले श्रम मन्त्रालयमा रहेको कल सेन्टर भने नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित भएकाले चार घण्टा श्रम सहायता केन्द्रमा रूपान्तरण गरिएको जानकारी दिए । श्रमिकका गुनासो र समस्या सुन्न ६ महीनाभित्र श्रमसम्बन्धी सम्पूर्ण कार्यको टाइम कार्ड लागू गरिने उनको भनाइ छ । श्रमसम्बन्धी आएका गुनासो तोकिएको समयभित्र समाधान गर्नेगरी मन्त्रालयले कार्ययोजना बनाएको उनले बताए । ६ महीनामा पनि समस्या समाधान नभए कारणसहित कर्मचारीसँग जानकारी लिने उनको भनाइ छ ।

फरक क्षमता भएकालाई सिंहदरबारमा सहज प्रवेश

अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाइएको मन्त्रालयले बताएको छ । अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि श्रम मन्त्रालयको सिफारिशमा गृह मन्त्रालयसँगको सहकार्यमा सिंहदरबार प्रवेश सहज बनाइएको श्रममन्त्री अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्