सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक ‘फास्ट ट्र्याक’मा अघि बढाइने



काठमाडौं,माघ १८ । सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई ‘फास्ट ट्र्याक’मा अघि बढाइने भएको छ ।

अर्थ मन्त्रालयमा मंगलवार बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्र्याकमा अघि बढाउने निर्णय गरेको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आइतवारसम्ममा विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्र्याकमा संघीय संसद्मा पठाउने बताए । सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रावधानहरूको प्रभावकारी रूपमा कार्यान्वयनमा ध्यान दिने उनले बताए । सरकारले अन्तरराष्ट्रिय रूपमा नेपालको छवि बिग्रन नदिने उनको भनाइ छ । बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, मुख्य सचिव शंकरदास वैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, विभिन्न मन्त्रालयहरूका सचिव लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्