खेर जाँदै ४० लाख ‘डोज’ खोप



काठमाडौं, माघ १८ ।  सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज (बुस्टर) खोप ल्याउने तयारी गर्दै गर्दा भण्डार गरी राखिएको ४० लाख डोज खोप भने खेर जाने अवस्थामा पुगेको छ ।

पहिलो, दोस्रो र तेस्रो डोज खोप लगाइसकेका नागरिकलाई चौथो डोज दिनेगरी सरकारले पहिलो र दोस्रो चरणमा गरी ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गर्दै गर्दा पहिल्यै ल्याइएका ४० लाख डोज साइनोभ्याक खेर जाने अवस्थामा पुगेको हो ।

त्यस्तै, ३ लाखभन्दा बढी डोज भेरोसिल खोपसमेत स्टक छ । देशका सातै प्रदेशसहित विभागको कोल्डस्टोरमा ४३ लाख ८८ हजार ६ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागको तथ्यांक छ । त्यसमध्ये साइनोभ्याक मात्रै ४० लाख डोज छ । त्यसबाहेक अन्य भेरोसिल खोप मौज्दात छ ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले ४० लाख डोज साइनोभ्याक र बाँकी भेरोसिल खोप विभागको कोल्ड स्टोरहरूमा स्टक रहेको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा प्रयोग गर्न अनुमति दिएको छैन । तर, भेरोसिल भने पहिलो र दोस्रो डोज लगाउन केही जनसंख्या बाँकी रहेकाले लगाउन मिल्ने विभागको बुझाइ छ । साइनोभ्याक खोप भने स्वास्थ्य मन्त्रालयले विशेष निर्णय नगरे खेर जान सक्छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका महानिर्देशक सर्वेश शर्मा विभागअन्तर्गतका कोल्डस्टोरमा स्टक खोपको म्याद २०२३ डिसेम्बरसम्म रहेको र त्यसअघि नै सरकारले विशेष निर्णय गर्नुपर्नेमा जोड दिन्छन् ।

सरकारले छिमेकी मुलुकमा कोभिड–१९ संक्रमण फरकस्वरूपमा फैलिँदै गएपछि तेस्रो र चौंथो डोजका लागि अर्थात् दोस्रो र तेस्रो बुस्टर डोजमा प्रयोग गर्न ३० लाख डोज फाइजर खोप ल्याउन लागेको हो । सो खोप कोभ्याक्स सुविधामार्फत ल्याइँदै छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोजका लागि ३० लाख फाइजर खोप ल्याउन प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनका अनुसार त्यसमध्ये १५ लाख डोज दोस्रो बुस्टर डोजका रूपमा प्रयोग हुने छ भने बाँकी १५ लाख पहिलो र दोस्रो मात्रा लगाएकालाई पहिलो बुस्टर डोजका रूपमा दिइने छ । दोस्रो बुस्टर मात्राका लागि ल्याइने खोप फेब्रुअरी दोस्रो सातासम्ममा आइपुग्ने बताइन्छ । सो खोप ल्याउनका लागि औषधी व्यवस्था विभागले अनुमति दिइसकेको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्