भ्रष्टाचार सूचकांकमा नेपाल ११०औं स्थानमा



काठमाडौं, माघ १८ ।  ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपालमा अझै भ्रष्टाचार व्याप्त रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमै कायम रहेको समेत उसले औंल्याएको छ ।

विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलद्वारा मंगलबार जारी ‘भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)–२०२२’मा नेपालले सयमा ३४ अंक पाएको छ । अघिल्लो वर्ष सयमा ३३ अंक थियो ।

सुशासनमा ५० भन्दा कम अंक ल्याउने देशलाई ‘भ्रष्टाचारग्रस्त’ मानिएको छ । यस वर्ष औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा रहेको उल्लेख गरिएको छ ।

गत वर्षको तुलनामा अंकमा केही सुधार भए तापनि नेपाल अझै व्याप्त भ्रष्टाचार हुने मुलुकमै पर्ने ट्रान्सपरेन्सीले औंल्याएको छ । गत वर्ष १ सय १७औं मलुकको स्थानमा रहे पनि यो वर्ष १ सय १०औं स्थानमा उक्लिएको छ ।

भ्रष्टाचार बढ्नु र शुसासन कायम हुन नसक्नुमा राज्य जिम्मेवार भएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी अध्यक्ष पद्यिनी प्रधानांगले बताइन् । सुशासन आउनका लागि देशमा दण्डहिनता अन्त्य, कानुन पालना, स्वार्थको द्वन्द्व सम्बोधन र सरकारले भ्रष्टाचार नियन्त्रण गर्नका लागि गरेको प्रतिबद्धता पूरा गर्नसके नेपाल शुसासनमा माथि उक्लन सक्ने उनको विश्वास छ ।

त्यस्तै, सीपीआई २०२२ मा दक्षिण एसियाली राष्ट्रमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ । ६८ अंक प्राप्त गरी भुटान २५औं स्थानमा छ ।

माल्दिभ्स ४० अंकसहित ८५औं, भारत ४० अंकसहित ८५औं, श्रीलंका ३६ अंकसहित १०१औं स्थानमा छ । पाकिस्तान २७ अंकसहित १४०औं र बंगलादेश २५ अंकसहित १४७औं स्थानमा छन् ।

सार्क राष्ट्रमध्ये सबैभन्दा कम भ्रष्टाचार भुटानमा रहेको ट्रान्स्परेन्सीले औंल्याएको छ । अफगानिस्तान २४ अंक प्राप्त गरी १५०औं स्थानमा छ । त्यस्तै छिमेकी मुलुक चीन ४५ अंकसहित ६५औं स्थानमा छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्