२०२३ को पहिलो महीना ५५ हजार पर्यटक भित्रिए



काठमाडौं,माघ १९ । सन् २०२३ को पहिलो महीना (जनवरी) नेपालमा ५५ हजार ७४ विदेशी पर्यटक आएका छन् । यसपालिको आगमनले कोरोना महामारीपूर्वको वर्ष सन् २०१९ को पहिलो महीनालाई पछ्याउन खोजेको देखिएको छ ।

सन् २०१९ को जनवरीमा ६६ हजार ७१४ विदेशी पर्यटक नेपाल आएका थिए । पोहोरको तुलनामा यसपालि जनवरीको आगमन झन्डै २२५ प्रतिशतले बढी हो । सन् २०२२ को जनवरीमा १६ हजार ९७५ विदेशी नेपाल आएका थिए ।

कोभिड–१९ महामारीपछि चिनियाँ पर्यटक आगमन घटेकोमा यो वर्षको शुरू महीनामै उल्लेख्य सुधार देखिएको छ । नेपालमा भारतपछि सबैभन्दा धेरै पर्यटक आउने देशमा चीन पर्छ । नेपाल पर्यटन बोर्डले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष जनवरीमा चीनबाट १ हजार ४३६ पर्यटक आएका छन् । पोहोर जनवरीमा चीनबाट ३२१ पर्यटक आएका थिए । सन् २०१९ को जनवरीमा ११ हजार ४३० चिनियाँ पर्यटक नेपाल आएका थिए ।

जनवरीमा सबैभन्दा धेरै पर्यटक सार्क देशबाट आएका छन् । देशगत रूपमा सबैभन्दा बढी भारतीय छन् । बोर्डका अनुसार जनवरीमा १६ हजार ४३६ भारतीय नेपाल आएका छन् । भारतलाई भुटान र बंगलादेशले पछ्याएका छन् ।

जनवरीमा सार्क मुलुकबाट २० हजार ६२६ पर्यटक आएका छन् । यूरोप बढी पर्यटक नेपाल पठाउने क्षेत्रको दोस्रो नम्बरमा छ । यूरोपका बेलायत, स्वीडेन, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्डस्, रसियालगायत देशबाट ८ हजार ६८८ पर्यटक नेपाल आएका छन् । त्यसमा बेलायतीको संख्या ३ हजार ४५८ छ । त्यसपछि जर्मनी र फ्रान्सबाट बढी पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार जनवरीमा सार्कबाहेकका एशियाली मुलुक चीन, जापान, मलेशिया, सिंगापुर, दक्षिण कोरिया, म्यानमार र थाइल्यान्डबाट कुल ८ हजार ५९३ पर्यटक आएका छन् ।

अमेरिकी देशहरूबाट ७ हजार ५६२ पर्यटक आएका छन् । ओसिआनिया क्षेत्र भनिने अस्ट्रेलिया र न्यूजिल्यान्डबाट ३ हजार ६३२ जना आएका छन् ।

जनवरीमा मध्यएशियाली मुलुक इजरायल र टर्कीबाट ३७४ पर्यटक आएका छन् । बोर्डका अनुसार यी मुलुकबाहेक अन्य देशबाट ५ हजार ५५९ पर्यटक आएका छन् । पछिल्लो समय कोरोना संक्रमणदर कम हुँदै जाँदा पर्यटक आगमनमा सुधार देखिएको सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्