भारतबाट आइपुग्यो ३० हजार ६०० मेट्रिक टन युरिया मल



काठमाडौं,माघ १९ । नेपालले भारत सरकारसँग जीटुजी प्रक्रियामार्फत खरीद गरेको ३० हजार ६०० मेट्रिकटन सबै युरिया मल नेपाल आइपुगेको छ । मंगलवार बिहानसम्ममा सबै मल नेपाल ढुवानी भइसकेको कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको हो ।

जीटुजी प्रक्रियामार्फत पहिलो चरणमा भारतबाट ३० हजार मेट्रिकटन युरिया खरीद गर्ने प्रक्रिया भए पनि खरीदमा २ प्रतिशतसम्म फेरबदल गर्नुपर्ने व्यवस्था भएकाले ३० हजार ६०० मेट्रिकटन आयात गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको खरीद महाशाखा प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए ।

उनका अनुसार ग्लोबल टेन्डरबाट खरीद गरिनेभन्दा यो मल प्रतिमेट्रिक टन करीब ५७ डलर सस्तोमा खरीद गरिएको हो । जीटुजी सम्झौता गरिएको समयमा ग्लोबल टेन्डरको युरिया मल प्रतिमेट्रिक टन ८२४ डलर थियो । भारत सरकारको नेशनल केमिकल्स एन्ड फर्टिलाइजर लिमिटेडले नेपालसम्म मल ढुवानी गरेको हो । खरीद गरिएको कुल ३० हजार ६०० मेट्रिक टन युरिया मलमध्ये ८ हजार ५०० मेट्रिक टन विराटनगर तथा १० हजार मेट्रिक टन भैरहवा पठाइने र बाँकी १२ हजार १०० मेट्रिक टन मल वीरगञ्ज विक्री केन्द्रमा राखिनेछ । त्यसपछि कोटा निर्धारण भएअनुरूप किसानलाई विक्री गर्न जिल्लामा पठाइने महाशाखा प्रमुख कार्कीले जानकारी दिए । गहुँ बालीका लागि लक्षित गरी ल्याइएकाले जतिसक्दो चाँडो किसानसम्म पुर्‍याउनुपर्ने उनले बताए ।

नेपालमा प्रत्येक वर्ष अभाव देखिने मलको समस्या समाधानका लागि नेपालले भारत सरकारसँग गतवर्ष फागुन दोस्रो साता सम्झौता गरेको थियो । सम्झौताअनुसार भारत सरकारसँग नेपालले पाँच वर्षभित्र ९ लाख ३५ हजार मेट्रिक टन रासायनिक मल खरीद गर्नेछ । कृषि सामग्रीसँग यतिबेला २४ हजार ७०० मेट्रिक टन युरिया, ६ हजार २०० मेट्रिक टन डीएपी र ५०० मेट्रिक टन पोटास मौज्दात छ ।

प्रतिक्रिया दिनुहोस्