प्रदर्शनीमार्फत प्रविधिबारे जानकारी दिँदै चैतेधान खेतीमा आकर्षण बढाउने योजना



नेपालगञ्ज,माघ १९ । दुई वर्षदेखि बाँकेका किसानहरूले चैतेधान उत्पादन गर्न थालेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन शुरू गरेपछि ती क्षेत्रमा चैतेधान उत्पादन थालिएको हो ।

वर्षेधान सीमित मात्रामा उत्पादन हुँदा भारतबाट ठूलो परिमाणमा चामल आयात गर्नुपर्ने भएपछि वैकल्पिक धानको उत्पादनमा जोड दिइएको परियोजना कार्यान्वयन इकाई नेपालगञ्जका प्रमुख राकेश ओझाले बताए ।

परियोजना सञ्चालन भएको पकेट क्षेत्रमा किसान छनोट गरी उनीहरूलाई धानको बीउ, विषादी र मलखाद निःशुल्क उपलब्ध गराइएको छ । पकेट क्षेत्रमा हर्दिनाथ र हाइब्रिड-१ नामक धानको खेती हुने गरेको छ ।

हाल धान जोन कार्यक्रम सात हेक्टर जमिनमा छ । यसलाई अझै विस्तार गर्ने लक्ष्य रहेको परियोजना इकाई कार्यान्वयन कार्यालयले जनाएको छ । ‘किसानलाई प्रविधिबारे जानकारी दिँदै धान जोनमा विभिन्न बालीको प्रदर्शनी गरेर आकर्षण बढाउने योजना छ,’ ओझाले भने ।

उनले किसानलाई कृषि यान्त्रिकीकरणमा ५० प्रतिशत, साना सिँचाइमा ५० प्रतिशत र आधुनिक मेसिनमा ५० प्रतिशत सुविधा उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार अहिले किसानलाई साना सिँचाइ र मलको आवश्यकता छ ।

जिल्लाको बैजनाथ गाउँपालिका वडा २, ३ र ४ को नौवास्ता, ७ को वनकटवा, वडा ८ को टिटिहिरियामा ७ हजार ४२३ घरधुरी धान जोन कार्यक्रममा संलग्न छन् । जानकी गाउँपालिका–१ को साइगाउँ, वडा नं २ को बेलाभार, वडा नं ३ को नेपालगञ्ज र वडा नं ४ को खजुराखुर्दका ४ हजार ७८७ घरधुरी छन् ।

त्यस्तै खजुरा गाउँपालिका वडा नं २ को खजुराखुर्द, वडा नं ४ को सीतापुरमा गरी ३ हजार ३४४ घरधुरी सो कार्यक्रममा संलग्न भएको परियोजना कार्यान्वयन इकाईले जनाएको छ ।

धान जोन समन्वय समितिका संयोजक सर्वजित विष्टले वर्षेधानभन्दा चैतेधानको उत्पादकत्व बढी भएको बताए । उनले किसानलाई ७५ प्रतिशत अनुदानमा सिँचाइ योजना उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्दै नहर भएको ठाउँमा खेती सफल हुने बताए । 

धानको बिक्रीवितरणका समयमा बिचौलियाले धेरै नाफा लिने भएकाले बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने किसानहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्