सिन्धुपाल्चोकमा म्याद नाघेका वस्तु नष्ट



सिन्धुपाल्चोक,माघ २१ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बजार अनुगमनको क्रममा कैफियत भेटिएका खाद्य वस्तु नष्ट गरेको छ । गाउँपालिकाले वडा नं १ देखि ८ सम्मका २१२ पसल अनुगमन गर्दा म्याद नाघेको भेटिएका ६ लाख ५७ हजार रुपैयाँ बराबरको वस्तु नष्ट गरेको हो ।

अनुगमनको क्रममा म्याद नाघेको अखाद्य  ठहरिएका वस्तु जफत गरी नष्ट गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । पछिल्लो समय गाउँपालिकाले उपाध्यक्ष सुनिता अधिकारीको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर अनुगमनलाई तीव्रता दिएको छ । सो क्रममा ३ लाख ३० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको पेयपदार्थ, चकलेट, चिजबल, मिठाई, चाउचाउ लगायत वस्तु नष्ट गरिएको अनुगमन समितिका सदस्य सचिव अनिल पाण्डेले बताए । उनका अनुसार २ लाख ३६ हजार बराबरको तेल, चिउरा, चामल लगायत सामग्री नष्ट गरिएको छ । ‘सबै गरी ६ लाख ५७ हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेका छौं,’ उनले भने ।

अन्य स्थानीय तहले चार्डपर्वको बेलामा मात्र बजार अनुगमन गर्दै आएका छन् । चाडपर्वबाहेकका समयमा गरिने अनुगमन प्रभावकारी हुने गाउँपालिकाको भनाइ छ ।

गाउँपालिकाले गरिरहेको अनुगमनमा व्यवसायीले सघाएका छन् । उपभोग्य मिति नहेरी सामग्री उपभोग गर्ने सर्वसाधारणलाई अनुगमनबाट सचेत गराइएको स्थानीय व्यवसायी विकास श्रेष्ठले बताए ।

यसअघि गाउँपालिकाले अखाद्य वस्तु नभित्रियोस् भन्ने उद्देश्यले सीमा नाका खाल्डे खोलामा जाँच गर्दै आएको छ । गाउँपालिका अध्यक्ष लामाले उपभोक्ताले मिति हेरर मात्र सामान किन्नुपर्ने बताए ।

गाउँपालिकाले २०७९ असोज ५ देखि २ जना कर्मचारी तथा बजार निरीक्षक राखेर अनुगमनको आधार बनाएको छ । ती कर्मचारीले गाउँपालिकाको सूचना केन्द्र खाल्डे खोलाबाट दैनिक पाँचपोखरी थाङ्पाल गाउँपालिकाभित्र व्यापारीहरूले ल्याएको खाद्य सामग्रीको उपभोग्य मिति चेकजाँच गरी तथ्यांक राख्ने काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्