किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौं,माघ २१ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेकोबारे आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बोधनको आवश्यक पहल लिन निर्देशन दिएका छन् ।

शुक्रवार चितवनका किसानहरूले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराएका हुन् ।

चिवतनमै रहेका मन्त्री साहलाई प्रधानमन्त्री प्रचण्डले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशन समेत दिए । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्ने बताएका छन् ।

कृषिमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारीहरू बोलाएर थप छलफल गर्ने समेत प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्