सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क हुने



काठमाडाैँ,माघ २४ । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताएका छन । प्रेस चाैतारी नेपालको स्थापना दिवसको कार्यक्रममा सम्बाेधन गर्दै अर्थमन्त्री पौडेलले अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभावकारी कार्यान्वयन नभएको हुनाले यसको कार्यान्वयनको व्यवस्था मिलाउने बताए ।

उनले भने, ‘पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने प्रबन्ध गरियो, बजेटमा पनि प्रस्तुत गरियो तर अहिले पनि प्रभावकारी रूपमा व्यवस्थापन हुन सकेको छैन ।’ पत्रकारका लागि दुर्घटना बीमामा ५० प्रतिशत शुल्क तिरे पुग्ने व्यवस्था पनि सरकारको अर्काे महत्वपूर्ण काम भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले सरकार सदैव श्रमजीवी पत्रकारको पक्षमा रहेको स्पष्ट पारे ।

उनले सरकारले सञ्चार क्षेत्रसँग जोडिएर बीमा, क्लिन फिडजस्ता महत्वपूर्ण व्यवस्था गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए । पौडेलले जनता र राष्ट्रको न्यायको पक्षमा पत्रकारिताको अगुवा भएर काम गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्