धितोपत्र कारोबारमा के हो नट्स ?



कामाडौं,माघ २५ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) सञ्चालनमा ल्याएको वर्षौं भइसकेको छ । तर यो प्रणालीबारे थोरै लगानीकर्ता मात्र जानकार छन् । नेप्सेका अनुसार नेप्सेको स्वचालित अनलाइन कारोबार प्रणालीको सबैभन्दा महत्त्वपूर्ण हिस्सा नै नट्स रहेको छ । इन्टरनेटको माध्यमबाट संसारका जुनसुकै ठाउँबाट लगानीकर्ताले विभिन्न धितोपत्र खरीदविक्री आदेश प्रविष्ट गरी कारोबार गर्ने प्रणाली नै नट्स हो ।

नेप्सेले २०७२ सालदेखि कागजी शेयर प्रमाणपत्रलाई विद्युतीय स्वरूपमा ढालेर कागजरहित कारोबार राफसाफ तथा फछ्र्योटको थालनी गरेको थियो । नेप्सेले अहिले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्यनमा ल्याएको छ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएसँगै अहिले लगानीकर्ता र ब्रोकरका साथै नियामकलाई समेत सहज भएको छ । यसले ब्रोकरलाई लगानीकर्ताको आदेश अनुसार कारोबार सञ्चालन गर्न, लगानीकर्तालाई धितोपत्रको कारोबार गर्न र नियामकलाई बजारमा हुने गतिविधि नियमन गर्न सहज भएको हो ।

नेप्सेका अनुसार नट्समा कम्पनी सूचीकरण, सदस्य दलाल दर्ता, सुपरिवेक्षण, जोखिम व्यवस्थापन, इन्डेक्स व्यवस्थापन, कारोबार सञ्चालन लगायत कार्य स्वचालित रूपमा हुन्छन् । वाइको प्रालिद्वारा निर्मित नट्समा २० ओटा छुट्टाछुट्टै मोड्युल र अन्य सहायक मोड्युल छन् । नट्स अन्तर्गत ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)को निर्माण पनि वाइकोले नै गरेको हो । नट्स र टीएमएस दुवैको मर्मतसम्भार यही कम्पनीले गर्दै आएको छ । नेप्सेका अनुसार टीएमएस र नट्सबीच भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)बाट कनेक्सन गरी उच्चतम सुरक्षा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्