भरत तालमा आन्तरिक पर्यटकको घुइँचो



रौतहट,फागुन ३ । सर्लाहीको बागमती नगरपालिकामा पर्ने मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बनेको भरत तालमा पछिल्लो समय स्वदेशी तथा भारतीय सीमा क्षेत्रबाट समेत पर्यटक आउने गरेका छन् । ताल चुरेको फेदी बागमती नदीको किनारमा १२१ बिगाहामा फैलिएको छ ।

तालको सुन्दर दृश्य, तालबाट देखिने चुरे पर्वत, तालमा पौडिने जलचर र तालमा चल्ने मोटरबोटले पर्यटकको मन लोभ्याउने गरेको स्थानीय श्रवण थापाले बताए । अहिले तालमा फोटो खिच्ने, टिकटक बनाउने, डुंगामा यात्रा गर्ने र ताल वरपर घुमघाम गर्दै रमाइलो गर्नेको संख्या बढ्दै गएको थापाको भनाइ छ । तालमा ३५ सिट क्षमताका २६ ओटा विद्युतीय जेटबोट सञ्चालनमा छन् । तालमा दैनिक दुई हजारभन्दा बढी पर्यटक आउने गरेको बागमती नगरपालिकाका प्रमुख भरत थापाले बताए । ताल व्यवस्थापनका लागि डुंगा चढ्दा केही शुल्क लिने गरिएको  उनले जानकारी दिए ।

नगरप्रमुख थापाले ताल क्षेत्रमा पर्यटक लक्षित होटल र रिसोर्ट बन्दै गरेको बताए । ‘तालमा ‘वाटर फ्लाई’ लगायतको काम भइरहेको छ, तालको दक्षिण र पश्चिम क्षेत्रको १२५ बिगाहामा पार्कसहितको बगैंचा बन्दैछ,’ उनले भने ।

तालमा सौन्दर्यकरण, रिसोर्ट लगायतका काम सकिएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करीब १ हजार ५०० जनाले रोजगारी पाउने नगरप्रमुख थापाको भनाइ छ । बागमती नगरपालिका–४ र १२ नम्बर वडाको बीचमा रहेको ताललाई पर्यटकीय गन्तव्य बनाउन संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले लगानी गरिरहेको उनले बताए । बागमती नगरपालिकाले आम्दानीको स्रोत बढाउन माछा पाल्ने लक्ष्यसहित २०७६ सालमा पोखरी खन्न थालेको थियो । बाँझो जमीन खन्दै जाँदा यो ताल बनेको हो । नगरपालिकाले ताललाई ‘बागमती माछा पोखरी’ नामकरण गरेको थियो, तर स्थानीयले यसलाई ‘भरत ताल’को पहिचान दिएका छन् । भरत ताल पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको कर्मैयास्थित बागमती पुलबाट करीब ३ किलोमिटर दक्षिणमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्