को हुन? जो उपचार खर्च तिर्न नसक्दा गंगालाल अस्पतालमै अलपत्र छन्



काठमाडौं,फागुन १५ । ‘हार्ट अट्याक’ भएपछि काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा फलोअपका लागि पुगेका सर्लाहीका ६० वर्षीय राम औतार महतोलाई चिकित्सकले गत बिहीवार नै ‘डिस्चार्ज’ गर्ने भनेका थिए । तर, त्यसको चार दिनसम्म पनि उनको ‘डिस्चार्ज’ भएको छैन । रोग झन् बल्झेर वा अन्य स्वास्थ्य समस्याका कारण उनले अस्पतालमै बस्नुपरेको भने होइन, त्यसको कारण हो– उनीसँग अस्पताललाई तिर्ने पैसा नहुनु । 

‘बुबाको उपचार गर्ने डाक्टरले गत बिहीवार पैसा तिर्नुस् डिस्चार्ज गरिदिन्छु भन्नुभएको थियो । तर, अस्पताललाई तिर्नुपर्ने पैसा बुझाउन सकिएन,’ उनीसँग आएका छोरा १८ वर्षीय सञ्जीवकुमार महतोले भने । 

उपचार खर्चबापतको रकम तिर्न नसकेपछि अस्पतालमै अलपत्र परेका छन् उनीहरू । अस्पताललाई ५२ हजार रुपैयाँ तिर्न बाँकी रहेको सञ्जीवले बताए । ‘उक्त रकम तत्काल जुटाउने हाम्रो परिवारको सामर्थ्य छैन । परिवारको आयस्रोत केही छैन, भएको अन्नजति सबै बेचिसके,’ उनले सुनाए । उनको बोलीले मात्रै होइन, पहिरनमा पनि विपन्नता झल्किन्थ्यो । झुत्रे जाकेट-पाइन्ट र सिलाएको प्लास्टिकको चप्पल लगाएका छन् उनले । 

अस्पताललाई तिर्ने रकम जुटाउन उनले आफन्त र छिमेकीलाई पनि गुहारे । बिहीवारयता हरेक दिन उनी आफन्त र छिमेकीलाई पैसाका लागि फोन गरिरहेका छन् । तर, कहीबाट पनि सहयोग पाएनन् उनले । 

रकम नजुटेपछि अस्पताल प्रशासनसँग पनि आफ्नो समस्या सुनाए सञ्जीवले । तर, त्यहाँबाट पनि निराश भए उनी । 

अस्पताल प्रशासनका एक कर्मचारीले कार्यकारी निर्देशकबाहेक अन्यले छूट दिन नमिल्ने बताएपछि उनी कार्यकारी निर्देशकलाई भेट्न पनि गए । तर, भेट्न पाएनन् । ‘कार्यकारी निर्देशकज्यूलाई भेट्न खोज्दा सेक्युरिटी गार्डले ‘भित्र हुनुहुन्न’ भन्दै फिर्ता पठाइदिनुभयाे,’ उनले सुनाए । 

अस्पतालले प्रशासनका कर्मचारीले सम्बन्धित चिकित्सकको सिफारिसमा जयन्ती ट्रस्टमार्फत १० हजार रुपैयाँसम्म छूट दिन सकिने बताएको उनले बताए । त्यो रकम पाए पनि आफूलाई नपुग्ने उनको भनाइ छ । 

उनलाई अस्पतालको खर्च जुटाउन नसक्दाको चिन्ता त छँदै थियो । डाक्टर र नर्सको व्यवहारले झनै दुःखी बनायो । ‘अस्पताललाई तिर्नुपर्ने खर्चबारे सुझाव माग्दा डाक्टर र नर्सहरूले अभद्र व्यवहार गर्नुभयो,’ उनले दुखेसो सुनाए, ‘उहाँहरूले पैसा नभए किन उपचार गर्न आएकोसम्म भन्नुभयो ।’ 

चार दिनदेखि अस्पतालमा भौतारिँदा पनि उनले आशा भने मारेका छैनन् । ‘आफन्त र छिमेकीलाई फोन गरिरहेको छु । सहयोग पाइन्छ होला,’ उनले सुनाए । 

‘हार्ट अट्याक’ भएपछि गत पुस २४ गते गंगालाल अस्पताल भर्ना भएका थिए रामऔतार । त्यतिबेला ४/५ दिन उपचारपछि ‘डिस्चार्ज’ भएका उनलाई १ महीनापछि फलोअपका लागि बोलाइएको थियो । त्यही फलोअपका लागि यही फागुन ३ गते उनी अस्पताल भर्ना भएका थिए ।

उपचारका लागि लिएका थिए ७० हजार ऋण 

उनको परिवारको आयस्रोत कृषि हो । अर्थात् कृषिजन्य उपज बेचेरै उनको परिवारले घर खर्च चलाइरहेको छ । त्यही रकमबाट घरखर्चसँगै ३ जनाको पढाइ खर्च पनि जुटाउनुपर्छ उनको परिवारले । ‘परिवारको कसैलाई उपचार गर्नुपर्ने अवस्था आए आफन्त र छिमेकीसँग ऋण लिनुपर्छ,’ उनले सुनाए । 

बुबाको उपचारका लागि काठमाडौं आउँदा पनि उनले तीन जनासँग ७० हजार रुपैयाँ ऋण लिएका थिए । यससँगै अन्न बेचेको २० हजार पनि थियो उनीसँग । बुबाको उपचारमा यो रकमसँगै विपन्न नागरिकले राज्यबाट पाउने उपचार रकमको १ लाख रुपैयाँ सकिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्