विश्वकप क्रिकेट लिग–२ : खेल जित्यो पपुवा न्युगिनीले, फाइदा भयो नेपाललाई  



काठमाडौं,फागुन १७। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको जारी त्रिदेशीय शृंखलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) प्रतियोगिताकै कमजोर टोली पपुवा न्युगिनीसँग पराजित भएको छ । 

शृंखलाको आफ्नो पहिलो खेलमा युएई पपुवा न्युगिनीसँग १३१ रनले पराजित भएको हो । २६३ रनको लक्ष्य पछ्याएको युएईलाई पपुवा न्युगिनीले ३४.२ ओभरमा १३१ रनमै अलआउट गर्‍यो । 

जारी प्रतियोगिताका ३० खेल खेलेको पपुवा न्युगिनीको यो तेस्रो जित हो । युएईविरुद्ध भने उसको यो दोस्रो जित हो । जारी प्रतियोगितामा पपुवा न्युगिनीले युएईसँगै अमेरिकालाई पनि पराजित गरेको छ । 

जितसँगै पपुवा न्युगिनीले २ अंक जोडे पनि यसको समग्र फाइदा नेपाललाई भएको छ । 

यसकारण नेपाललाई फाइदा ? 

नेपाललाई कसरी फाइदा भयो ? यसबारे जान्न प्रतियोगिताको अंकतालिकाबारे चर्चा गरौं । अंकतालिकामा स्कटल्याण्ड ५० अंकसहित शीर्ष स्थानमा छ । दोस्रोमा रहेको ओमानको ४४ अंक छ । यस्तै, नामिबिया ३९ अंकसहित तेस्रो स्थानमा रहँदा अमेरिका ३५ अंकसहित चौथोमा छ । यी टोलीले प्रतियोगिताका सबै अर्थात् ३६ खेल खेलिसकेका छन् । 

लिगको अंकतालिकामा पाँचौंमा छ युएई । उसको २९ खेलबाट २९ अंक छ । पपुवा न्युगिनी भने ७ अंक बटुलेर अंकतालिकाको पुछारमा छ । ऊ विश्वकप छनोट र एकदिवसीय मान्यताको दौडबाट बाहिरिसकेको छ । अंकतालिकाको छैटौं स्थानमा रहेको नेपालको भने २९ खेलबाट २८ अंक छ । अर्थात् नेपाल अझै युएईभन्दा १ अंकले पछि छ ।आजको खेल युएईले जितेको भए नेपालभन्दा ऊ ३ अंकले पछि हुन्थ्यो । यसआधारमा युएई हार्दा नेपाललाई २ अंकको फाइदा भएको छ । 

जारी प्रतियोगितामा युएई हार्दा नेपाललाई फाइदा हुनेछ । किनकि नेपालको विश्वकप छनोट यात्रामा युएई बाधक बन्न सक्छ । नेपाल विश्वकपमा छनोट हुन पपुवा न्युगिनीसँग युएई हारेर मात्रै हुँदैन । नेपालले समेत युएईलाई हराउनुपर्नेछ । अर्थात् नेपालले अबको ७ खेलमध्ये ६ खेलमा जित्नुपर्नेछ । यो अवस्थामा युएईलाई कम्तीमा ३ खेलमा पराजित गर्नुपर्ने देखिन्छ । पपुवा न्युगिनीविरुद्ध बाँकी सबै खेल नेपालले जित्नुपर्नेछ । 

विश्वकप छनोटको दौडमा को–को ? 

जारी प्रतियोगिताबाट स्कटल्याण्ड र ओमान आगामी विश्वकप प्रतियोगिताका लागि छानिसकेका छन् । यो प्रतियोगिताबाट आगामी विश्वकपका लागि अब एक टोली छानिन बाँकी छ । यसका लागि नामिबिया, अमेरिका, युएई र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ । 

अहिलेको अवस्थामा नेपाललाई विश्वकपमा छनोट हुन लिग–२ का बाँकी ७ खेलमध्ये ६ खेल जित्न आवश्यक छ । यो अवस्थामा नेपालको अंक ४० हुनेछ । र, प्रतियोगितामा तेस्रो रहँदै विश्वकप छनोट हुनेछ । नेपालले अबका ६ खेल जितेको अवस्थामा युएईको अंक नेपालभन्दा कम हुनेछ । किनकि नेपालले ६ खेल जित्ने हो भने युएईलाई कम्तीमा ३ खेलमा हराउनुपर्नेछ ।  नेपालले अब प्रतियोगिताअन्तर्गत युएईविरुद्ध ४ र पपुवा न्युगिनीविरुद्ध ३ खेल खेल्न बाँकी छ । 

एकदिवसीय मान्यता जोगाउन भने नेपालले ४ खेल जित्नुपर्ने हुन्छ । यो अवस्थामा नेपालको ३६ अंक हुनेछ । र, कम्तीमा पाँचौं स्थानमा रहँदै एकदिवसीय मान्यता जोगिनेछ । 

प्रतिक्रिया दिनुहोस्