विश्व समुदायलाई नेपालले बहुमूल्य जडीबुटी निर्यात गर्न सक्छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्व समुदायलाई स्वस्थ राख्न नेपालले बहुमूल्य जडीबुटी निर्यात गर्न सक्ने बताएका छन् । उनले त्यसका लागि आवश्यक वातावरण तय गरिने पनि बताएका हुन।

राजधानीमा आजबाट सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डले सातवटै प्रदेशमा आयुर्वेद औषधि उत्पादन केन्द्र, जडीबुटी सङ्कलन एवं प्रशोधन केन्द्रको स्थापनाको नीति अगाडि सारिएको जानकारी दिए । उनले गुणस्तरीय आयुर्वेद औषधि उत्पादनतर्फ उन्मुख आयुर्वेद औषधि कम्पनीको प्रवद्र्धन गर्ने सरकारको योजना रहेको बताए । उनले सरकारको तर्फबाट जडीबुटी खेतीका लागि अनुदानका लागि आवश्यक प्रबन्ध गरिने विश्वास दिलाए ।

प्रधानमन्त्री प्रचण्डले आयुर्वेद औषधिको उत्पादनका लागि अतिआवश्यक जडीबुटीको निकासी पैठारीमा रहेको व्यवधानहरू हटाउन नीतिगत निर्णय गरिने उल्लेख गरे ।

प्रधानमन्त्रीले तीन सय वर्ष पुरानो इतिहास बोकेको सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अगाडि बढाउने घोषणा पनि गर्नुभयो । नेपाल आयुर्वेद तथा प्राकृतिक चिकित्साका अलावा औषधिजन्य जडीबुटी उपलब्धताका हिसाबले महत्वपूर्ण स्थानमा रहेको उल्लेख गर्दै मुलुकको गौरवका रूपमा स्थापित वैद्यखानालाई थप गति दिने विश्वास दिलाए ।

प्रधानमन्त्री प्रचण्डले नेपालको आयुर्वेद चिकित्सालाई थप विस्तार गरिने जानकारी दिए। उनले अतिआवश्यक जडीबुटीको निकासी पैठारीलाई व्यवस्थित गर्न नीतिगत निर्णय गरिने स्पष्ट पारे ।

उन भने, “सरकारका तर्फबाट राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रलाई पूर्णरूपमा क्रियाशील बनाई नेपालका रैथाने जडीबुटीको अध्ययन–अनुसन्धानलाई द्रुतगतिमा अगाडि बढाउन आवश्यक नीतिगत निर्णय गरिनेछ ।”

नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल भएको जनाउँदै उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण परिरहेका समस्यालाई न्यूनीकरण गर्न आवश्यक रहेकामा जोड दिए । आयुर्वेदका लागि नेपालमा रहेका वनस्पति जोगाइराख्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । नेपालमा पाइने यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसीलगायतका अति महत्वपूर्ण वनस्पतिको थप अध्ययन र अनुसन्धान हुनु आवश्यक रहेको उनको भनाइ छ ।

स्वास्थ्य पर्यटनलाई प्रवद्र्धन गर्न आयुर्वेद, पञ्चकर्म, योग, ध्यान कार्यक्रम सञ्चालन गर्न अस्पताल, उपचार केन्द्र, वेलनेस सेन्टर स्थापना गर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले त्यसका लागि नीतिगत निर्णय भइसकेको जानकारी दिए । सातवटै प्रदेशमा एक सय शय्याको आयुर्वेद अस्पताल सातै प्रदेशमा सञ्चालनमा ल्याउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्