युएईमाथि नेपालको रोमाञ्चक जित, विश्वकप सम्भावना जीवितै



काठमाडौं,फागुन २२ । आइसीसी विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरक इमिरेट्स (युएई) मा जारी त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल युएईमाथि रोमाञ्चक जित हात पारेको छ । जितसँगै नेपालले विश्वकप छनोटको गणितिय सम्भावना कायम राखेको छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा नेपाल घरेलु टोली युएईलाई ४२ रनले हरायो । जितका लागि नेपालले दिएको दुई सय ३० रनको लक्ष्य युएईले ४५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ८७ रन रनमा समेटियो । 

युएईका लागि आशिफ खानले सर्वाधिक ८२ रन बनाउनुभयो । आर्यन लक्राले ५० र भिरितिया अर्भिन्दले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले तीन तीन विकेट लिए । आरिफ शेख, करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय २९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले अर्धसतकीय इनिङ्स खेले।

उनले सर्वाधिक ७० रन बनाए । उनले ९९ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाएका हुन् । भीको यो एकदिवसीयमा पहिलो अर्धसतक हो । आरिफ शेखले अविजित ४३ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्