भेडेटारमा सिसाको स्काई वाक बन्ने

काठमाडौं,फागुन २५ । भेडेटारमा सिसाको स्काई वाक बन्ने भएको छ । सार्वजनिक र निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने भएको छ ।
वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रा.लि ले यो परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिएकन छन् । स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बन्ने भएको छ । स्काइ वाकमा एकैपटकमा २०० जना हिड्न सक्छन् । सिसाको स्काइ वाकको तल भिर भएकाले झन् थ्रीलु अनुभव हुने पोख्रेले बताएका छन् ।
भेडेटारमा हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरू गरिएको छ यस परियोजना सन् २०२३ भित्र नै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिएका छन् । यस परियोजना साँगुरी गढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुन्सरीको सिमानामा पर्दछ । परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति दिएको शर्माले बताए ।
साथै, काठमाडौंको कमलादीमा निर्माण भइरहेको स्काई वाक टावरु र इलामको कन्याममा निर्माण भइ सञ्चालनमा आइसकेको कन्याम क्लाउडु नामको स्काई वाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।