अरुण ३ जलविद्युत् परियोजनास्थलमा उच्चस्तरीय भ्रमण

काठमाडौं,फागुन २६ । नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो–प्यासिफिक) एने म्यारी ट्रेवेलियनले संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण ३ जलविद्युत् परियोजनाको भ्रमण गरेकी छिन् । परियोजनाको विद्युत्गृह तथा ट्रान्सफर्मर बेको अवलोकन गर्दै उनले नेपाल स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनमा ठूलो उपलब्धि हासिल गर्नेतर्फ उन्मुख भएको बताइन् । जलविद्युत् उत्पादनमा नेपालले प्रतिस्पर्धी लाभ हासिल गर्ने उनले बताइन् । साथै स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।
सो अवसरमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण–३ जलविद्युत् परियोजना नेपालको ऊर्जाक्षेत्रको विकासमा कोसेढुंगा रहेको बताए । बोर्डले कोभिड–१९ महामारीको कठिन समयमा पनि परियोजना कार्यान्वयन जारी राख्न आवश्यक सबै सहजीकरण गरेको उनले बताए ।
यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा निर्माणाधीन र निर्माणका लागि गृहकार्य अघि बढाइएका ठूला जलविद्युत् परियोजनाले यस क्षेत्रको विद्युत्को माग सम्बोधनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । क्षेत्रीय विद्युत् व्यापारलाई सार्थक बनाउन दक्षिण एसियाली देशहरूबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता उनले औंल्याए ।
अरुण–३ जलविद्युत् परियोजना भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास भइरहेको छ । उच्चस्तरीय भ्रमण टोलीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले परियोजनाको प्रगतिबारे जानकारी गराएका थिए । उनका अनुसार परियोजनाको उत्पादनतर्फको हालसम्मको भौतिक प्रगति ६१ दशमलव २ प्रतिशत छ । कम्पनीले परियोजनाको विद्युत्गृहदेखि भारतको सीतामढीसम्म ४०० केभी क्षमताको २५३ किमी लामो अन्तरदेशीय प्रसारणलाइन निर्माण गरिरहेको छ, जुन सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।