प्रचण्डमाथि मुद्दा लगाउन खाेज्नु जनयुद्धमाथिको आक्रमण होः महासचिव विप्लव

काठमाडौं,फागुन २६ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई मुद्दा लगाइएको बताएका छन् ।
शुक्रबार चार कम्युनिस्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रधामन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताए ।
उनले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरु तयार रहेको बताए । उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगत रुपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृतिसँग सम्बन्धित रहेको उल्लेख गरे । महासचिव विप्लवले सो मुद्दालाई आफूहरुले अस्वीकार गर्ने बताए ।
उनले भने, ‘‘यो मुद्दा भनेको गणतन्त्रलाई पनि सहन गर्न नसक्ने प्रवृत्तिको हमला हो। अथवा गणतन्त्रलाई सम्पूर्ण रुपले पश्चगामी र दलाल पूँजीपति वर्गको हातमा हाल्दिने षड्यन्त्र र जसले विश्वमा र नेपालमा एउटा परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको थियो। त्यो सम्भव छैन है, अब कसैले पनि त्यसलाई सोच्नु हुँदैन है भनेर एकदमै प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ यो मुद्दा हालिएको छ। पार्टी वा नेताले त्यसको नेतृत्व गर्ने हो। त्यो कुरालाई एउटा व्यक्तिमा लगेर जोडेर जसरी हमला गर्न खोजिन्छ, त्यो चाहिँ क्रान्तिलाई नै अस्विकार गर्ने, ध्वंस गर्ने प्रवृत्तिसँग सम्बन्धित छ। त्यसैले हामीले अस्वीकार गरेका छौँ।’’