फेवातालमा ‘साइरन’ राखिने

कास्की,फागुन २७ । एक हप्ताअघि ठूलो हावाहुरी चल्दा पोखराको फेवातालमा डुङ्गा पल्टेर एक जनाको मृत्यु भयो। लाइफ ज्याकेट लगाए पनि उनको मृत्यु भएको थियो भने अन्य एउटै डुङ्गामा सवार यात्रुको ज्यान जोगियो। लाइफ ज्याकेटले ज्यान जोगिए पनि यात्रुले आफैँले जानी नजानी फेवातालमा डुङ्गा चलाउँदा दुर्घटना भएको डुङ्गा व्यवसायी बताउँछन्।
डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष बलराम गिरीले यात्रुले आफैँ डुङ्गा जानी नजानी चलाउँदा घटना भएको बताए । यसरी यात्रुले आफैँ डुङ्गा चलाउँदा दुर्घटना हुने भएपछि अब चालकबिना डुङ्गा नदिने व्यवसायीको निर्णय छ। अध्यक्ष गिरीका अनुसार हावाहुरी चल्ने अबका तीन महिना चालकबिना डुङ्गा रिजर्भ पनि नदिइने भएको छ।
“अब केही समय सिङ्गल जाने, रिजर्भ गर्न पाइने छैन्। अत्यधिक हावाहुरी चल्ने भएपछि चालकबिना वा समयको अवस्थाअनुसार डुङ्गा चल्नेछन्”, उनले भने । उनका अनुसार यदि डुङ्गामा चालक हुन्थे भने शनिबार घटना हुँदैन्थ्यो वा मानवीय क्षति नहुन सक्थ्यो। “चालकले छालमा कसरी जोगिने भनेर अनुभव बटुलेका हुन्छन्। अहिले मात्र छाल उठेको होइन, अरू बेला पनि यस्तो जोखिम निम्तिन्छ, त्यो बेला चालकले सुरक्षित उतार्छन्”, उनले भने, “चालक रहेको भए चालकले यात्रुलाई सन्तुलन बिग्रन नदिने गरी डुङ्गामै बस्न लगाएर सुरक्षित साथ पार लगाउँथे तर यात्रु चालकबिना यात्रामा निस्कँदा अत्तालिन पुग्दा दुर्घटना हुन पुग्यो।”
गिरीले हावाहुरी आउँदा साङ्केतिक सङ्केत दिने ‘साइरन’ राख्ने तयारी गरेको बताए । “साइरनले हावाहुरी आउन लागेको १०/१५ मिनेट पहिले जानकारी दिन्छ। जसले गर्दा अप्रिय घटना हुनबाट जोगिन्छ।
आगामी आइतबारदेखि ‘साइरन’ राख्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो। यसका लागि रेडक्रस, वडा, महानगरसँग समन्वय भइरहेको उनले सुनाए । ‘साइरन’ व्यवस्थापनका लागि छुट्टै समिति बनिसकेको उनले जानकारी दिए ।
शनिबार डुङ्गा दुर्घटनापछि कास्की प्रशासनले चालकबिना डुङ्गा सयर गराउन नपाउने गरी कडाइ गर्ने निर्णयसमेत गरेको छ। चैतदेखि जेठसम्मको तीन महिना अवधिका लागि चालकबिना यात्रुले मात्र डुङ्गा चलाउन नपाउने निर्णय गरेको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी शनिबारको घटनाले पनि प्रशासन फेवातालमा डुङ्गा सयर गर्ने र गराउने तरिका प्रति गम्भीर भएको बताएका छन् । उनका अनुसार चालकबाहेकलाई डुङ्गा चलाउन नदिने गरी कडाइ गर्न व्यवसायीलाई निर्देशन पनि दिइएको छ।