उपराष्ट्रपतिमा हानथापः एक पद–चार उम्मेदवार, गठबन्धनमै मारामार



काठमाडौं,फागुन २७ । राष्ट्रपति पदमा भन्दा यतिबेला उपराष्ट्रपति पदमा दलहरुबीच मारामार चलिरहेको देखिएको छ । उपराष्ट्रपति चुनावका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । चैत ३ गते हुने नेकपा एमालेबाट एक जना तथा सत्तारुढ गठबन्धनमा रहेका दलहरूबाट तीन जनाको उम्मेदवारी परेको हो ।

एक उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेद्वारी परेको छ । जसमा गठबन्धनमै रहेका दलहरुबाट साझा उम्मेदवारमा सहमति जुटाउन नसक्दा जसपा र जनमत पार्टी दुई दलबीच हानाथाप देखिएको छ भने दुवै दलले यस पदलाई आ–आफ्नो प्रतिष्ठाको रुपमा यसलाई मुख्य बटमलाइन बनाएका छन् ।

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट पार्टीकी उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी छन् । उता उपराष्ट्रपति पदमा महिला कि पुरुषलाई उम्मेदवार बनाउने विषयमा अन्योलबीच सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच सहमति नहुँदा जनमत पार्टी र जसपा नेपालले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । जनमतबाट ममता झा तथा जसपा नेपालबाट रामसहाय प्रसाद यादव र प्रमिला यादव उम्मेदवार बनेका छन् ।

जसपाको दोहोरो उम्मेदवारी, पद नगुमाउने चलाखी

नेपालको संविधान अनुसार एउटा दलबाट राष्ट्रपति हुँदा अर्को फरक दलबाट उपराष्ट्रपति हुनुपर्ने व्यवस्था छ । तर, नेपाली काँग्रेसका रामचन्द्र पौडेल पुरुष राष्ट्रपति भएसकेको भएपनि उपराष्ट्रपतिमा महिला र पुरुष को हुने भन्ने स्पष्ट व्याख्या भएको पाइदैन । तर, उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता जनिकिँदै गर्दा हिजोअस्ति महिला उम्मेदवार हुनुपर्ने बहसले राजनीतिक बजार निकै तातिरहेको थियो । यद्यपी त्यो आजसम्म पनि जारी छ र त्यस विवाद तथा बहसले कुनै समाधान दिन सकेको छैन । सत्तागठबन्धनमा रहेका दलहरुमा पनि यो विषयले निक्र्यौल पाउन सकेको छैन । अझ निर्वाचन आयोगले त झन् यही कुरालाई बल पुग्नेगरी उपराष्ट्रपतिमा महिला नै अनिवार्य हुनुपर्ने बताएको छ ।

यसैअनुरुप एमालेले उम्मेदवारको रुपमा महिला नेतृ अष्ठलक्ष्मी शाक्यलाई अघि सारेको छ । यता राष्ट्रपतिका रुपमा यसअघि काँग्रेसलाई दिने समझदारीसँगै उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीले पाउने सहमति दलहरुबीच भएको थियो । त्यसमा जसपाले सांसद रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउनेगरी ढुक्क भएर बसेको थियो । जब आयोगले महिला उपराष्ट्रपतिको विषय ल्याएपछि सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले त्यसमा आफ्नो दाबी अघि सा¥यो । उसले ममता झालाई उम्मेदवार बनाउने निर्णयसँगै उम्मेदवारी दर्ता गराइसकेको छ भने उपराष्ट्रपति आफुले नै पाउनुपर्ने अडान लिइरहेको छ । यस पदलाई उसले गठबन्धनभित्रको साझा उम्मेद्वारका रुपमा उम्मेदवारी आफ्नो मुख्य बटमलाइल समेत भनिरहेको छ । सहमति नभए मित्रवत प्रतिष्पर्धा गर्ने सार्वजनिक घोषणासमेत गरिसकेको छ ।

यता जसपाले रामसहायसँगै महिला उम्मेदवारको रुपमा प्रमिला यादवको नाममा उम्मेदवारी दर्ता गराइसकेको छ । जसपाले यस्तो तयारी नगरेको अवस्थामा महिला नै उपराष्ट्रपति हुनुपर्ने निर्णय आइहालेमा आफ्नो पार्टीबाट विकल्पमा महिला प्रमिला नै बन्ने र उक्त पद सुरक्षित गरिछाड्ने उसको दाउ छ भने पुर्व सहमति अनुसार आफ्नो पार्टीले पाउने यो अवसरलाई गठबन्धनभित्र सुनिश्चिता उसले खोजेको देखिन्छ । रामसहायको मात्र उम्मेदवारी भएको अवस्थामा यदी भोलि महिला नै हुनुपर्ने निर्णय आएको खण्डमा मुखैमा आएको अवसर गुम्ने र गठबन्धनभित्रको अर्को दल जनमत पार्टीले कब्जा गर्नसक्ने डर जसपालाई छ ।

जसपाले भने विगतमा आफूले पाउने सहमति बनिसकेको उक्त पद गुम्न नदिने रणनीति अनुसार महिला र पुरुष दुवैलाई उम्मेदवार बनाएको बुझन सकिन्छ । यसमा गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्रदेखि एकिकृत समाजवादीसम्मको आपसी समझदारी अनुसार भएको देखिन्छ । कानुन अनुसार महिला अनिवार्य वा पुरुष को हुने भन्ने टुङ्गो नलागेसम्म र स्पष्ट व्याख्या नआउँदासम्म दुवै उम्मेदवारी कायम राख्ने योजना जसपाको छ । त्यसका लागि पुरुष वा महिला जोसुकै हुने व्यवस्था आएपनि पुर्वसहमति अनुसार गठबन्धनबाट साझा उम्मेदवारको रुपमा आफ्नै पार्टीका नाममा सहमति गराउने तयारी अनुसार जसपा अघि बढेको देखिन्छ ।

उम्मेदवारी फिर्ताको समयसम्ममा महिला नै हुनुपर्ने अवस्था आएमा पनि रामसहायलाई उम्मेदवारी फिर्ता गराएर प्रमिला यादवलाई भनेपनि उपराष्ट्रपति बनाउन जसपा चाहन्छ । महिला र पुरुषमध्ये जोसुकै भएपनि हुने भन्ने अवस्थामा प्रमिलालाई फिर्ता लिन लगाएर रामसहायलाई उम्मेदवारमा कायम राख्ने उसको तयारी छ । यस्तो परिस्थिति बनेको अवस्थामा जसपा र तिनका अध्यक्ष उपेन्द्र यादवलाई हाइसन्चो हुने देखिन्छ । एकै पार्टीबाट यसरी दुई उम्मेदवार अघि नसारेको अवस्थामा एक त उपराष्ट्रपति पद नै गुमाउनुपर्ने र अर्कोतिर अध्यक्ष उपेन्द्र यादव संसद् छिर्ने बाटोदेखि ढोका सबै बन्द हुने खतरा दुवै थियो ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पाउने पक्कापक्की भएको अवस्थामा गएको मंसिरमा चुनाव हारेका जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट आफूलाई हजस हुने पात्रलाई उपराष्ट्रपतिमा पठाएर आफ्नो गुमेको सांसद पदसमेत सुरक्षित गर्ने रणनितिमा केही महिनादेखि नै लागिपरेका थिए । निर्वाचन जितेर आएका सांसद्लाई नै राजिनामा गराएर उपराष्ट्रपतिमा पठाउने र त्यहाँ उपनिर्वाचन गरी संसद् छिर्ने उपयुक्त बाटो उपेन्द्रले खोजिरहेका छन् ।

उपनिर्वाचनमार्फत संसद छिर्न सोहीअनुसार सांसद रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने र सो ठाउँमा उपनिर्वाचन हुँदा उम्मेदवार बनेर फेरि संसद छिर्ने यादवको रणनीति छ । यादवका लागि सबभन्दा सहज बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव जितेका रामसहायलाई उपराष्ट्रपति बनाउँदा हुने देखिन्छ । अरु क्षेत्रभन्दा यादवलाई बारा २ बाट चुनाव जित्न पनि सजिलो हुने र रामसहाय यादवलाई राजिनामा पनि गराउन सजिलो हुने भएकाले उपेन्द्रको जोड यसैमा छ ।

एमालेबाट शाक्य

प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिको पदमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराइसकेकी छन् । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय अनुसार शाक्यले उम्मेदवारी गराएकी हुन् ।

शाक्यको प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् । त्यस्तै, समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहेका छन् ।

जसपाबाटै उपराष्ट्रपतिमा दुई उम्मेदवार

उपराष्ट्रपतिको निर्वाचनको लागि सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् भने सोही पार्टीकी प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराएकी छन् । उनको उम्मेदवारीमा रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव प्रस्तावक छन् । अनिता देवकोटा, सीता गुरूङ, बिरेन्द्र महतो, मनिस सुमन र सुशिला श्रेष्ठ भने समर्थक छन् ।

यसैगरी, रामसहाय प्रसादको तर्फबाट परेको उम्मेदवारीमा प्रस्तावक अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन् । यस्तै रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी समर्थक छन् ।

दुवैको उम्मेदवारीमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदहरू सहभागी भएका छन् । लोतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उपस्थित छैनन् ।

गठबन्धनकै जनमतबाट झा

उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनमा रहेको जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दिएकी छन् । बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव उनका प्रस्तावक छन् । गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, बसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी समर्थक छन् ।

गठबन्धनको साझा उम्मेदवार पछि टुङ्गो लगाउने
१० दलीय सत्ता गठबन्धनको बैठकले तीन जनाको उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियो । जसपाबाट रामसहाय यादव, प्रमिला यादव र जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियो ।

झा उम्मेदवार टुंगो लगाउन आइतबार पुनः बैठक बस्ने निर्णय समेत गठबन्धनले गरेको छ ।

मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्