नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, साढे चार अर्बको कारोबार



काठमाडौँ,मंसिर १ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७९ अङ्कले घटेर दुई हजार ६३६ दशमलव १० विन्दुमा कायम भएको छ। त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३२ अङ्कले घटेर ४७७ दशमलव २१ विन्दुमा झरेको छ।

फ्लोट सूचक शून्य दशमलव ८३ अङ्कले घटेर १८२ दशमलव ७७ तथा सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७३ अङ्कले घटेर १६१ दशमलव ७६ विन्दुमा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर चार अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ रुपैयाँमा खरिदबिक्री भएका छन्।

कारोबारमा रहेका १३ उपसमूहमध्ये १२ वटाको सूचक घटेको छ भने एउटा उपसमूहको सूचक बढेको छ। आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको घटेको छ भने नौ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज अपर लोहोरे खोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यस्तै, एभरेष्ट कलर, सिवाईसी नेपाल लघुवित्त र विजय लघुवित्तका लगानीकर्ताले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्