स्ववियु निर्वाचन : कतै निर्विरोध, कतै स्थगित



काठमाडौं,फागुन २८ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सहभागी हुन विद्यार्थी सङ्गठनले शनिबार उम्मेदवारी दर्ता गरेका छन् । त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा समेत चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ । 

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले शनिबार उम्मेदवारी दर्ता गरेका हुन् तर आङ्गिकमध्ये त्रि–चन्द्र, आयुर्वेद र पृथ्वीनारायण क्याम्पसमा भने विद्यार्थी सङ्गठनको आपसी विवादका कारण उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जानकारी दिएको छ । त्यहाँ विद्यार्थी भर्नासम्बन्धी विवाद देखिएको छ । त्यस्तै प्रकृतिको समस्या रहेको रत्नराज्यलक्ष्मी र नेपाल कमर्स क्याम्पसमा भने समस्या समाधान गर्ने प्रयास भइरहेको निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । 

उनका अनुसार त्रिविका आङ्गिक क्याम्पस मध्ये गोरखा क्याम्पस र धनकुटा क्याम्पसमा भने पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भइसकेका छन् । सम्बन्धन प्राप्त क्याम्पस मध्ये पनि धेरै ठाउँमा पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताका लागि शनिबार बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म समय दिएको उक्त निर्देशनालयले साँझ ५:०० बजे प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन गरिसकेको छ ।

आइतबार बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेभित्र प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध गर्ने समय तोकिएको छ । सोही दिनको साँझ ५:०० बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गरिने निर्वाचनसम्बन्धी कार्यतालिकामा उल्लेख छ । 

प्रत्यक्षतर्फ उम्मेदवारी दिएकालाई फागुन २९ गते दिउँसो १:०० बजेसम्म फिर्ता लिने समय दिइनेछ । सोही दिन दिउँसो २:०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्देशनालयले जनाएको छ । विद्यार्थी सङ्घ तथा सङ्गठनले फागुन २९ देखि चैत २ गतेसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन् । त्यसपछि निर्वाचन सम्पन्न नहुँदासम्म मौन अवधि रहनेछ । मौन अवधिमा प्रचारप्रसार गरेमा कारबाही गरिने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । 

त्रिविमा २०१८/१९ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो । सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई/दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ । त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको हो । जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति, उपसचिव र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुनेछन् तर २०७३ सालमा उपत्यकामा नौवटा र उपत्यकाबाहिर १७ वटा क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भएको थियो । स्ववियुको कार्य समितिमा उम्मेदवार हुन उम्मेदवारी दर्ताको दिनसम्म २८ वर्ष उमेर ननाघेको हुनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्