अपडेट : सिन्धुली दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, २९ घाइते

सिन्धुली/ओखलढुंगा,फागुन २८ । ओखलढुंगाबाट काठमाडौँतर्फ जादै गरेको बस मध्यपहाडी राजमार्गमा दुर्घट्ना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् ।
ओखढुंगाको रुम्जाटारबाट छुटेको बा२ख ६५९६ नम्बरको बस मध्यपहाडी राजमार्गस्थित सिन्धुलीको फिक्कल गाँउपालिका ४ कुइभिर भन्ने स्थानमा दुर्घट्ना हुँदा ६ जनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जिवी दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार राजमार्गको भित्तामा बस ठोक्किएर दुर्घट्ना हुँदा २ महिला, १ बालिका र तीन जना पुरुषको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २२ जना खुर्कोटस्थित शुभजिवन अस्पताल तथा खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने ६ जनालाई दुर्घट्नास्थलबाट खुर्कोटतर्फ ल्याउने काम भइरहेको स्थानियले जनाएका छन् । बसका चालक सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।
बस भित्तामा ठोक्किएकाले बसको देब्रे साइडका यात्रुको मृत्यु भएको स्थानिय गंगाराम पहाडीले जानकारी दिनुभयो । भित्तामा बस ठोक्किएर यात्रु च्यापिएपछि फिक्कल गाँउपालिकाको जेसीभी मेसिनले बस तानेर मृतकका शब तथा घाइतेलाई निकालिएको थियो ।
घट्नाको थप विवरण आउन बाकी रहेको र पारम्भिक जानकारी अनुसार बस आफै अनियन्त्रित भई भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।