मनाङ र मच्छिन्द्र बराबरीमा रोकियो



काठमाडौं,फागुन २८ । मनाङ मर्स्याङ्दी क्लब र साबिक विजेता मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा मनाङ र मच्छिन्द्रले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । बराबरीसँगै मनाङले तीन खेलबाट पाँच अङ्क बनाएको छ । मच्छिन्द्रले समान खेलबाट एक अङ्क जोडेको छ । 

यसैगरी च्यासल मैदानमा आइतबार नै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । रोमाञ्चक खेलमा आर्मीका लागि कप्तान नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेन्जनले गोल गरे ।

एनआरटीका लालनुन्जामाले दुई तथा जिन एनिस एमबोउमीले एक गोल गरे । बराबरीसँगै आर्मीले तीन खेलबाट पाँच अङ्क बनाएको छ । समान खेलबाट एनआरटीले एक अङ्क बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्