अर्थतन्त्र सहज नभए पनि आत्तिनुपर्ने अवस्थामा छैन : प्रधानमन्त्री दाहाल



काठमाडौं,फागुन २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र सहज नभए पनि आत्तिहाल्नुपर्ने अवस्थामा नभएको बताउनुभएको छ । अर्थतन्त्र चलायमान बनाउन वर्तमान सरकारको ध्यान केन्द्रित भएको भन्दै उहाँले ब्याजदरलाई एकल बिन्दुमा ल्याउन पहल भइरहेको र मुलुक झन्डै १० महीनाका लागि आयात धान्न सक्ने अवस्थामा रहेको बताउनुभयो ।

काठमाडौंमा आइतवार नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिलाई सरकारले उच्च महत्त्व दिएको बताउनुभयो । ‘भौतिक पूर्वाधारको विकास, विस्तार गर्ने निर्माण व्यवसायी समृद्धिका वाहक हुन्,’ उहाँले भन्नुभयो, ‘व्यवसायीका जायज माग सम्बोधन गरिनेछ भने व्यवसायीले पाउनुपर्ने भुक्तानीको समस्या पनि समाधान गरिनेछ ।’ यसैगरी निर्माण उद्योगसँग सम्बन्धित ऐन/नियम संशोधन गर्दा अब अनिवार्य रूपमा निर्माण व्यवसायीसँग परामर्श गरिने उहाँको भनाइ थियो । निर्माण व्यवसायीलाई पनि आफ्ना गल्ती कमजोरी महसूस गर्दै अघि बढ्न उहाँले ध्यानाकर्षण गराउनुभयो । सबैभन्दा बढी पूँजीगत खर्च गर्ने भौतिक पूर्वाधार क्षेत्रको खर्च बढाउन र भुक्तानी पनि समयमै दिने विषयमा सरकारको ध्यान गएको उहाँले बताउनुभयो ।

सो अवसरमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकार व्यवसायीसँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । निर्माण उद्योगका समस्याबारे आफू जानकार रहेको भन्दै श्रेष्ठले त्यस्ता समस्या समाधानका लागि नीतिगत रूपमै पहल भइरहेको बताए । ‘निर्माण व्यवसायीले काममा गरेको उपेक्षाका विषयमा सरकार टुलुटुलु हेरेर बस्दैन,’ उनले भने, ‘आफूले लिएको काम ठेक्का सम्झौता अवधिभित्रै सम्पन्न गर्ने गरौं ।’ सरकारले निर्माण व्यवसाय क्षेत्रका समस्या समाधानका लागि सघाउने उनले बताए । उचित कारण हुँदासमेत समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीको ठेक्का तोडिने चेतावनी समेत उनले दिए ।

कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीको मागका विषयमा सरकारको ध्यानाकर्षण गराए । व्यवसायीका जायज माग पूरा नभए आन्दोलनमा जानुको विकल्प नभएको पनि उल्लेख गरे । ‘व्यवसायीको अर्बौं रकम भुक्तानी रोकिएको छ,’ उनले भने, ‘साथै ऐन कानूनअनुसार पाउनुपर्ने मोबिलाइजेशन पेश्की व्यवसायीले नपाएकाले काम गर्ने वातावरण छैन ।’

साधारणसभाको अवसरमा महासंघका पूर्व अध्यक्षहरू सुकुन्तलाल हिराचन, जयराम लामिछाने लगायतले धारणा राखेका थिए । अहिले चाहेर पनि निर्माण व्यवसायीले काम गर्ने अवस्था नरहेको उनीहरूको भनाइ थियो ।

साधारणसभाको अवसरमा महासंघको मुखपत्र ‘निर्माण विशेषांक’को विमोचन गरिएको छ । साथै महासंघले ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्