नेपालले जोगायो एक दिवसीय अन्तरराष्ट्रिय मान्यता, विश्वकपमा पुग्ने सम्भावना कायमै



काठमाडौं,फागुन २९ । नेपालले आगामी ४ वर्षका लागि क्रिकेटको एक  दिवसीय अन्तरराष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । 

आइतवार कीर्तिपुरमा भएको आईसीसी विश्वकप क्रिकेट लिग टू को अन्तिम  त्रिदेशीय श्रृङ्खलाको दोस्रो खेलमा यूएईलाई १७७ रनको विशाल अन्तरले पराजित गरेसँगै नेपालले एक दिवसीय अन्तरराष्ट्रिय मान्यता जोगाएको हो ।

अब नेपालले श्रृङ्खलामा बाँकी  रहेका दुवै खेल जितेमा सिधै विश्वकप छनोटमा पुग्ने छ । हारसँगै यूएईले भने ओडीआई मान्यता गुमाएको छ । अमेरिकाको ओडीआई मान्यता भने जोगिएको छ । नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । अमेरिका पाँचौ र यूएई छैटौ स्थानमा छन् ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको थियो । २४९ रनको लक्ष्य पाएको यूएईले भने मात्र २२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्र  बनाउँन सक्यो ।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ५ विकेट लिए । सन्दिप लामिछानेले २ विकेट लिंदा सोमपाल कामी,दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले १/१  विकेट   लिए ।

ब्याटिङ तर्फ कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाएका थिए । आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम शार्कीले २९ रन बनाएका थिए ।

यूएईका लागि  आयान खानले सर्वाधिक २९ रन बनाउँदा आश्वान्थ भलथापाले १४ र कार्थिक म्येप्पानले ११ रन बनाउनु बाहेक अरू  कुनै पनि ब्याट्सम्यनजले दोहोरो अंकमा रन  बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्