चिनियाँ पर्यटक बढ्न सक्ने



काठमाडौं,चैत १ । चीनले केही दिनअघि आफ्ना नागरिकले घुम्न पाउने देशहरूको सूची सार्वजनिक गर्‍यो । चैत १ देखि कार्यान्वयन हुने उक्त सूचीमा नेपाल पनि परेको छ । बुधवारदेखि त्यहाँका नागरिक निर्बाध रूपमा नेपाल भ्रमणमा आउन सक्छन् ।

कोरोना महामारीका कारण आवागमनमा कडाइ गरेको चीनले सन् २०२३ को शुरुआतसँगै आफ्ना नीतिहरू खुकुलो बनाउँदै घुम्न जाने देशको सूचीमा नेपाललाई समेत राखेको हो । चिनियाँ नागरिक सहज रूपमा घुम्न निस्किने वातावरण बनेसँगै सुस्ताएको चिनियाँ पर्यटक आमगन बढ्ने अपेक्षा गरिएको छ । नेपालमा सबैभन्दा धेरै पर्यटक आउने देशमा भारतपछि चीन पर्छ ।

सन् २०१९ को अन्तिमतिर चीनमा देखिएको कोरोना भाइरसका कारण त्यहाँबाट नेपाल आउने पर्यटक संख्या उल्लेख्य घटेको छ । सामान्य वर्षमा नेपालमा डेढ लाखभन्दा बढी चिनियाँ आउने गरेको सरकारी तथ्यांकहरूले देखाउँछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल पर्यटन तथ्यांक २०२१ अनुसार नेपालमा सन् २०१९ मा १ लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक आएका थिए ।

यो क्रम २०२० लागेसँगै घटेको छ । पछिल्ला २ महीनामा भने चीनबाट आउने पर्यटक संख्यामा सकारात्मक सुधार देखिएको छ । सन् २०२२ मा करीब ९ हजार चिनियाँ पर्यटक नेपाल आएकोमा २०२३ को जनवरी र फेब्रुअरीमा साढे ३ हजार आएका थिए ।

चीन सरकारले नेपाललाई पनि घुम्न सकिने देशको सूचीमा राखेकाले अब चिनियाँ पर्यटक बढ्ने पर्यटन व्यवसायी बताउँछन् । चिनियाँ वायुसेवाहरूले नेपालमा उडान शुरू गरिसकेका छन् । एयर चाइना, सिचुवान, चाइना साउर्थन, चाइना इस्र्टन, क्याथे प्यासिफिकले नेपालमा उडान गर्दै आएका छन् । तिब्बत एयरले भने कोरोना देखिएपछि उडान गरेको छैन । चीनले यसअघि पनि विभिन्न देशमा चिनियाँ नागरिक जान पाउने गरी सूचना जारी गरेको थियो । तर, उक्त सूचीमा नेपाल नपरेको र अहिले सरकारी तहबाटै र नेपालस्थित चिनियाँ दूतावासलाई आग्रह गर्दा सूचीमा नेपाल परेको नेपाल पर्यटन बोर्डका एक अधिकारीले जानकारी दिए । उनका अनुसार अब चिनियाँ पर्यटकको संख्या वृद्धि हुनेछ ।

यसैबीच चीनले कोभिड–१९ महामारी फैलिएपछि  विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । बुधवार (१५ मार्च) देखि विदेशीलाई भिसा जारी गरिने चिनियाँ विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण गर्न बेइजिङले केही महीनाअघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो  । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुन: खुलेको छ ।

चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्युरोको सामाजिक सञ्जालमार्फत जारी गरिएको सूचनाअनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै  मार्च २८, २०२० अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसावाहकले पुन: चीनमा प्रवेश गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्