विश्व पर्यटन परिषद्को कार्यशाला काठमाडौंमा



काठमाडौं,चैत २ । नेपालसहित ११ देशका पर्यटन क्षेत्रसँग सम्बन्धित पदाधिकारीको सहभागितामा काठमाडौंमा बुधवारदेखि तीनदिने कार्यशाला शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व पर्यटन संगठनले ‘वेटर डेटा फर वेटर टुरिजम इन साउथ एसिया एण्ड प्यासिफिक’ विषयक कार्यशाला आयोजना गरेका हुन् ।

कार्यशालाको उद्घाटन गर्दै पर्यटनमन्त्री सुदन किराँतीले कोरोना महामारीका कारण थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी आवश्यक भएको बताए । यो कार्यशालाले पर्यटनको विकास तथा विविधीकरण, पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी प्रवर्द्धनका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म पुग्न सघाउने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा संगठनका बाह्य सम्बन्ध निर्देशक बेका जकेलीले पछिल्लो समय पर्यटनका आयाम परिवर्तन हुँदै गएको बताए । पर्यटकीय योजना तर्जुमादेखि प्रवर्द्धनात्मक कार्यका लागि गुणस्तरीय तथ्यांक आवश्यक रहेको उनको भनाइ थियो । यस्तै स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले कोभिडको प्रभाव कम हुँदै गर्दा विश्व पर्यटन लयमा फर्किन थालेको बताइन् । यस्तो बेला आयोजना भएको यो कार्यशालामा विज्ञहरूका बीच हुने छलफल तथा बहसले विश्व पर्यटनलाई दिशानिर्देश गर्ने उनले बताइन् ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा भइरहेको यो कार्यक्रममा पर्यटनका विभिन्न आयाममा हुने छलफल तथा पर्यटन तथ्यांकका विषयमा विभिन्न देशका अनुभव आदान–प्रदानले पर्यटनका लागि नयाँ दृष्टिकोण तयार पार्न सहयोग पुग्नेछ । कार्यशालामा पर्यटनका विविध पक्षमा कार्यपत्र प्रस्तुत हुनेछन् । कार्यशाला चैत ३ गतेसम्म चल्नेछ । कार्यशालामा नेपाल, भारत, बंगलादेश, मलेशिया, माल्दिभ्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेनलगायत देशका प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्