एटीएम कार्डबिनै पैसा निकाल्न मिल्ने ‘कार्डलेस’ सेवा कसरी लिने ? यस्ता छन् फाइदाहरू



काठमाडौं,चैत २ । अहिले तपाईंहरू एटीएममा पैसा झिक्न जाँदा त्यहाँ ‘कार्डलेस सेवा’ भनेको देख्नुहुन्छ । त्यो भनेको तपाईंले एटीएम कार्डबिना नै एटिएमबाट पैसा झिक्न पाउने सेवा हो ।

एटीएम नबोक्दा पनि एटीएम मेसिनबाट पैसा झिक्न मिल्छ भने वार्षिक ५०० रुपैयाँ तिरेर किन एटीएम चलाउने ? मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले त्यसमा अतिरिक्त शुल्क नतिरेरै यो सेवा लिन सक्छन् । त्यसको लागि ग्राहकहरू स्मार्ट फोन प्रयोगकर्ता भने हुनै पर्छ । 

मोबाइल बैंकिङ सेवा लिएका ग्राहकको लागि कार्ड र चेकबिनै पैसा निकाल्न मिल्ने यो अतिरिक्त सुविधा हो । कोभिड अघिसम्म बैंकका ग्राहकले एटीएम वा चेक काटेर मात्रै आफ्नो खातामा भएको पैसा निकाल्न पाउँथे ।

कसरी लिने कार्डलेस सेवा ? 

कार्डलेस सेवा लिनको लागि पहिला त तपाईंले मोबाइल बैंकिङ सेवा लिनुपर्छ । मोबाइल बैंकिङको सुविधा तपाईंसँग छ भने सम्बन्धित बैंकको मोबाइल एपमा ‘कार्डलेस विथड्र’ सेलेक्ट गर्नुपर्छ । त्यसपछि तपाईंले झिक्न चाहेको पैसा ५०० रुपैयाँले गुणन हुनेगरी उल्लेख गर्नुपर्छ । त्यसपछि तपाईंले विथड्रमा क्लिक गर्नुभयो भने तपाईंको रजिष्ट्रेड मोबाइल नम्बरमा ओटीपी कोड आउँछ । त्यसपछि तपाईंले एटीएम मेसिनमा भएको कार्डलेस विथड्र बटनमा थिचेर कार्डलेस सेवाको लागि प्रक्रिया शुरु गर्नुपर्ने हुन्छ । 

एटीएममा भाषा छनोट गरेपछि मोबाइल बैंकिङमा दर्ता भएको आफ्नो मोबाइल नम्बर राखेर आफूले निकाल्न चाहेको पैसा उल्लेख गर्नुपर्छ । उक्त रकम र प्रयोगकर्ताले मोबाइल बैंकिङमा प्रविष्ट गरेको अघिल्लो रकम भने एउटै हुनुपर्छ । 

प्रयोगकर्ताले आफ्नो मोबाइलमा अघि प्राप्त गरेको ओटीपी प्रवेश गरेपछि एटीएम कार्डबिना नै एटीएमबाट आफूले निकाल्न चाहेको पैसा निकाल्न सकिन्छ । 

यो कारोबारका लागि ग्राहकले एकपटकमा न्यूनतम ५०० देखि अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न सक्ने छन् । त्यस्तै एकदिनमा १ लाख रुपैयाँ र एक महीनामा ४ लाख रुपैयाँसम्म झिक्न सकिन्छ । 

नेपालमा कति छन् कार्डलेस सेवा प्रयोगकर्ता ? 

नेपालमा कोभिड संक्रमण फैलिएको समयमा धेरै मानिसहरू एटीएमबाट पैसा निकाल्न डराउँथे । त्यसैले कोभिड संक्रमणको समयमा नेपाली बैंकहरूले नेपालमा कार्डलेस एटीएमको आवश्यकता महसुस गरी यसको सुरुवात गरेको नबिल बैंकका रिटेल ट्रान्जेक्सन बैकिङ प्रमुख निरज शर्माले जानकारी दिए । उनले यो माध्यमबाट पैसा झिक्ने ग्राहक बढिरहेको बताए । 

‘पहिला चेक र एटीएमबाट मात्रै पैसा झिक्न मिल्थ्यो, कसैले एटीएम बिर्सियो÷हरायो वा एटीएमको पिन नम्बर हरायो भने पनि ग्राहकलाई पैसा झिक्न अफ्ठ्यारो नहोस् र स्मार्टफोनको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै बैंकले एटीएमबाट पैसा निकाल्ने सुविधालाई मोबाइल बैंकिङसँग मिसाएको हो,’ उनले भने । 

कोभिडको डरले धेरै मानिसहरू एटीएममा जान डराएका बेलामा कार्डलेस शुरु गरिएको उनले बताए । अहीले नबिल बैंकको २७१ ओटा एटीएममा यो सेवा लागू भइसकेको पनि उनले जानकारी दिए । 

कार्डलेसका फाइदा र बेफाइदा 

एटीएम बोक्न नपर्ने, एटीएमको वार्षिक नवीकरण शुल्क बचत हुने लगायतका कुरा कार्डलेसका राम्रा पक्ष हुन् । तर, कार्डलेस सेवा अहिले आफ्नो बैंकको च्यानलभित्र मात्रै सीमित छ । त्यसको लागि तपाईंको बैंकको एटीएम टाढा भए पनि त्यही पुग्नुपर्ने यसको नराम्रो पक्ष हो । 

सबै वाणिज्य बैंकमा सेवा छैन, विकास बैंकले पनि शुरू गरिसके 

कार्डलेस सेवा वाणिज्य बैंकसँगै विकास बैंकहरूले पनि शुरू गरेका छन् । गत वैशाखदेखि नै कार्डरहित एटीएम सेवा शुरू गरेको सांग्रिला डेभलपमेन्ट बैंकमा अहिले ५५ हजारभन्दा धेरै कार्डलेस प्रयोगकर्ता रहेको बैंकका कर्मचारी गणेश कँडेलले बताए । 

यसका लागी कुनै पनि शुल्क लाग्दैन । मोबाइल बैकिङ सेवाकै शुल्कमा यो सेवा पनि दिएको उनको भनाइ छ । अहिले बैंकको आफ्नै एटीएम सञ्जालबाट मात्रै यो सेवा लिन पाइन्छ । तर, आगामी दिनमा अन्तर बैंक एटीएमबाट पनि कार्डलेस सेवा दिन सकिने बैंकरहरू बताउँछन् । \

यस्तो छ नेपालमा कार्डलेस सेवाको इतिहास 

नेपालमा कोभिड संक्रमणको समयमा सनराइज बैंकले पहिलो पटक कार्डलेस एटिएमको शुरुवात गरेको थियो । अहिले यो सुविधा सञ्चालनमा रहेका अधिकांश बैंकहरूले दिँदै आएका छन् । 

नेपालमा कार्डलेस एटीएम सेवा नेपाल इलेक्ट्रोनिक भुक्तानी प्रणाली (एनसिएचएल) बाट सञ्चालित हुने गरेको छ । 

नेपालमा अहिले मोबाइल बैंकिङको प्रयोगकर्ता बढ्दो क्रममा छन् । मोबाइल बैंकिङको प्रयोगकर्ता बढेसँगै कार्डलेस एटीएमको प्रयोगकर्ता पनि आउने दिनहरूमा बढ्ने बैंकको विश्वास छ । 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा मोबाइल बैंकिङको प्रयोकर्ताको संख्या अघिल्लो आवको तुलनामा २९ प्रतिशतले बढेर १ करोड ८३ लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्