भिरबाट खसेर २६ वर्षीय युवकको मृत्यु
मुगु,कात्तिक १३ । मुगुको खत्याड गाउँपालिका–८ नुवाखेत नजिकै बाघमारे भिरबाट खसेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–५ निवासी २६ वर्षीय रनसुर विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार उनी बाघमारे भिरबाट करिब १०० मिटर तल मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार विक २०८३ कात्तिक ८ गते भलिबल खेल्न मुगुको खत्याड गाउँपालिका–रातापानी आएका थिए। उनी कात्तिक ९ गते रातापानीबाट आफ्नो घरतर्फ फर्किएको आफन्तले बताएका छन्।
कात्तिक १३ गते दिउँसो मृतकका जेठान मनबहादुर लुहारले प्रहरीलाई घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो।

