उपप्रधानमन्त्रीमा कांग्रेसबाटै ६ आकांक्षी



काठमाडौं,चैत ३ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट सरकारको उपप्रधानमन्त्रीसहितको नेतृत्वमा पुग्न ६ नेताले आकांक्षा देखाएका छन् । सत्ता गठबन्धन आबद्ध दलले उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उपराष्ट्रपति निर्वाचन आजै हुँदै छ ।

१३ फागुनमा बनेको वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेस मुख्य निर्णायक शक्तिका रूपमा छ । सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रको भए पनि प्रधानमन्त्रीपछिको दोस्रो तहको नेतृत्व कांग्रेसले लिनेछ ।

कांग्रेसबाट प्रधानमन्त्रीपछिको दोस्रो वरीयता सम्हाल्दै सरकारमा जान कांग्रेसका हालका उपसभापतिदेखि पूर्वउपसभापति तथा वर्तमान महामन्त्रीसम्मको आकांक्षा छ । हालका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता डा। प्रकाशशरण महत र नेता ज्ञानेन्द्रबहादुर कार्कीले इच्छा देखाएका छन् । यीमध्ये महामन्त्री थापाबाहेकका सबै सभापति शेरबहादुर देउवा क्याम्पका हुन् ।

हाल सरकारको नेतृत्व गरेको गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चासहितका आठ दल छन् ।

यी आठै दलले मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीले विश्वासको मत सँगसँगै लिने गरी आवश्यक तयारी र रणनीति बनाएका छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्