८ महीनामा ९६४ क्वीन्टल धान खरीद



जनकपुरधाम,चैत ५ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, जनकपुरधामले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार धान खरीद गर्न सकेको छैन । चालू आर्थिक वर्षमा १५ हजार क्वीन्टल धान खरीद गर्न लक्ष्य रहे पनि कम्पनीले फागुन अन्तिमसम्ममा ९६४ दशमलव २५ क्वीन्टल धान मात्र खरीद गरेको छ ।

चालू आर्थिक वर्र्षमा ३० लाख १६ हजार १ सय ७४ रुपैयाँ बराबरको धान खरीद गर्ने भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय, जनकपुरका सूचना अधिकारी रामपुकार मण्डलले बताए । यस वर्ष लक्ष्यअनुसार धान खरीद गर्न नसकिएको उनको भनाइ छ ।

प्रतिकिसान कम्तीमा १० क्वीन्टल धान खरीद गर्नुपर्ने कृषि ज्ञान केन्द्रको निर्णय भएकाले निम्न वर्गका किसानको धान खरीद गर्न नसकिएको मण्डलले बताए । किसानसँग धान खरीद गर्दा बैंक खाता, कम्तीमा एक बिघा १० कठ्ठाको लालपुर्जा हुनुपर्ने लगायत प्रक्रियाका कारण पनि किसानहरू कम्पनीमा धान बेच्न आउन नसकेको उनको भनाइ छ । ‘कतिपय किसानले अरूको जमीनमा धानखेती गर्ने गरेकाले प्रक्रिया पुर्‍याउन नसक्दा उनीहरूले कम्पनीमा धान बेच्न पाएका छैनन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्