पर्वतारोहणको वसन्तकालीन सिजन शुरू



काठमाडौं,चैत ६ । नेपालमा पर्वतारोहणका लागि उत्कृष्ट सिजन मानिने वसन्त ऋतु शुरू हुँदै गर्दा पर्यटन विभागले पर्यटकलाई अनुमति दिन शुरू गरेको छ । यससँगै आइतवारसम्ममा २५ देशका ५० जना पर्वतारोहीले अनुमति (परमिट) लिइसकेका छन् ।

पर्यटन विभागले आइतवार जारी गरेको सूचनाअनुसार अन्नपूर्ण–१, सुर्मा सरोवर, पांग्री गोल्डुम्बा, मनास्लु र थोरोङ पीक आरोहणका लागि उनीहरूले अनुमति लिएका हुन् । त्यसमध्ये १७ जना महिला र ३३ जना पुरुष छन् । विभागका अनुसार अहिलेसम्म अन्नपूर्ण–१ आरोहणका लागि सबैभन्दा धेरैले अनुमति लिएका छन् । उक्त हिमाल आरोहणका लागि १२ जना महिलासहित ३४ जनाले अनुमति पाएका हुन् ।

आरोहण अनुमतिबापत विभागले १ करोड २८ लाख ९८ हजार राजस्व संकलन गरेको छ । वसन्तकालीन सिजनका लागि अष्ट्रेलिया, अष्ट्रिया, ब्राजिल, ब्रिटिश भर्जिन आइसल्याण्ड, बुल्गेरिया, क्यानडा, चीन, फ्रान्स, जर्जिया, भारत, आयरल्याण्ड, जापान, म्यासेडोनिया, नर्वे, पाकिस्तान, पोल्याण्ड, कतार, रोमानिया, रसिया, सर्बिया, सिंगापुर, दक्षिण कोरिया, स्पेन, बेलायत र संयुक्त राज्य अमेरिकाका पवतारोहीले अनुमति लिएका छन् ।

वसन्त ऋतुमा सगरमाथा आरोहण बढी हुन्छ । सगरमाथा आरोहणबाट नेपालले सबैभन्दा धेरै राजस्व संकलन गर्छ । विभागले अनुमति दिएको ७५ दिनभित्र पर्वतारोहीले आरोहण गरिसक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्