उद्योगमा प्रहरीको छापा विवादित : राजस्व अनुसन्धानलाई अघि सारियो



वीरगञ्ज,चैत ६ । भन्सार राजस्व छलेको आरोपमा वीरगञ्ज आदर्शननगरस्थित एउटा उद्योगमा प्रहरीले गरेको छापा सन्देहमा परेको छ । प्रहरीले राजस्व छलीको तथ्य फेला पार्न नसकेपछि राजस्व अनुसन्धान विभागलाई अघि सारेको छ । प्रहरीले उद्योगमा लगाएको सिल ३ दिनपछि आफैले खोलिदिएको छ । त्यसको भोलिपल्ट प्रहरीकै आग्रहमा राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले उद्योगमा छापा मारेर कागजात, कच्चापदार्थ र तयारी उत्पादनको नमूना लिएर गएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको निर्देशनमा वडा प्रहरी कार्यालय बिर्ताले गत फागुन २५ गते वीरगञ्ज–१० आदर्शनगरस्थित स्वीट मार्ट फुड इन्डष्ट्रिजमा छापा मारेको थियो । चुइङ्गम बनाउने यो उद्योगले प्रयोग गर्ने कच्चापदार्थ (र गम)मा भन्सार महशुल चोरिएको सूचना आएको दाबी प्रहरीको थियो । फरक भन्सार दरबन्दी घोषणा गरेर राजस्व छलिएको आरोपमा अहिले राजस्व अनुसन्धानले अनुसन्धान अघि बढाएको छ ।

राजस्व चुहावटसम्बन्धी अनुसन्धान गर्ने निकाय राजस्व अनुसन्धान भएकाले राजस्वले अनुसन्धान गरिरहेको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले बताए । ‘कागजात देखाएपछि भन्सारमा बुझ्नुपरेन । त्यसपछि राजस्वलाई बुझाउने कुरा भयो । प्रहरी र राजस्व अनुसन्धानको समन्वयमा अनुसन्धान भइरहेको छ,’ एसपी शाहले भने । अब कैफियत भए/नभएको टुंगो लगाउने काम राजस्व अनुसन्धानको भएको उनले बताए ।

राजस्व अनुसन्धानका अधिकारी भने राजस्व अनुसन्धान र प्रहरी संयुक्त रूपमा छापामा जानुपर्नेमा प्रहरी पहिला पुगेर प्रक्रिया बिगारेको बताउँछन् । ‘प्रहरी पुगेर पहिला ताला लगाएछ । समस्या भएपछि हामीलाई भन्यो,’ ती अधिकारीले भने । शुरूमा प्रहरीले राजस्व अनुसन्धानलाई जानकारी नदिई छापा मारेको थियो ।

उद्योगले ४ दशमलव ७५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्यअभिवृद्धि कर तिरेर सो कच्चापदार्थ भित्र्याएको भन्सारको प्रज्ञापनपत्रमा देखिन्छ । भन्सारबाट रेड लेनमा जाँचपास भएको सो कच्चापदार्थ अन्य उद्योगले पनि सोही दरमा जाँचपास गराउँदै आएको र त्यसमा कुनै प्रकारको राजस्व छली नभएको दाबी उद्योग सञ्चालक निरञ्जन अग्रवालको छ । रेड लेनमा भन्सारले कागजातदेखि सम्बन्धित वस्तुको भौतिक परीक्षण गरेपछि मात्र जाँचपास हुने भएकाले चुहावट हुन नसक्ने दाबी उनले गरे ।

भन्सारमा ग्रीन, एलो र रेड लेनमा जाँचपास हुन्छ । ग्रीन र एलोमा आयातकर्ताको स्वघोषणाको आधारमा आवश्यकताअनुसार कागजात मात्र चेकजाँच हुन्छ । रेडमा कागजपत्रसँगै मालसामान भौतिक रूपमै परीक्षण गरेर जाँचपास गरिन्छ । यस्तो जाँचपासमा कैफियत भेटिएमा भन्सार कर्मचारी पनि कारबाहीको भागीदार बन्नुपर्दछ ।

४ वर्षअघि समेत प्रहरीले प्रतिलिपि अधिकार उल्लंघनको अभियोगमा आफूलाई मुद्दा लगाएकोमा अदालतबाट सफाइ पाएको अग्रवालले बताए । ‘मैलै कुनै प्रकारको राजस्व छलेको छैन । वीरगञ्जमै मैले जसरी नै आयात गर्ने तीनओटा अरू उद्योग छन् । तर, प्रहरीले मलाई बारम्बार हतोत्साहित गर्ने काम गरेको छ,’ उनले गुनासो गरे । नेपालमा चुइङ्गम उत्पादन गर्ने आठ उद्योगमध्ये तीनओटा वीरगञ्जमा छन् । सबै उद्योगले एकै प्रक्रिया र भन्सार दरमा कच्चापदार्थ आयात गरिरहेको अग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस्