३ हजार ७ सय पदका लगि ३ लाख ६५ हजारको दरखास्त



काठमाडौं, चैत ६ । लोकसेवा आयोगद्वारा लिइने सरकारी निकायका विभिन्न पदका परीक्षामा परीक्षा दिनेहरुको ठूलो उत्साह देखिएको छ ।

लोकसेवा आयोगद्वारा आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन गरिएका ३ हजार ७ सय २७ पदका लागि ३ लाख ६५ हजार ४ सय ३४ जनाको दरखास्त परेको छ । बेरोजगारी बढेको र लोकसेवाले निस्पक्षतापूर्वक परीक्षा सञ्चालन गर्ने भएकाले लोकसेवाको परीक्षाप्रति युवायुवतीहरुको आकर्षण बढेको हो । लोकसेवामा कुनै सोर्सफोर्स हुँदैन ।

लोकसेवाले मेरिटोक्रेसी (योग्यता, दक्षता र क्षमता) को आधारमा परीक्षा लिएर सोहीअनुसार कर्मचारी छनोट गर्दै आइरहेको छ । सोर्सफोर्स नलाग्ने भएकाले पनि यसतर्फ धेरैको आकर्षण बढेको हो ।

लोकसेवा आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न निकायबाट रिक्त पदपूर्तिका लागि आयोगमा माग भएअनुरुप ५ सय ८२ वटा बढुवा सूचना, १ सय २५ वटा आन्तरिक प्रतियोगिता, २ सय ५२ वटा खुला प्रतियोगिता र ४ सय ३८ वटा विभिन्न समावेशी समूहका गरी जम्मा १ हजार ३ सय ९७ वटा विज्ञापन प्रकाशन गरिएको थियो ।

सोमध्ये बढुवातर्फ आप्रबाहेक १ हजार २ सय ३३, आन्तरिक प्रतियोगितातर्फ २ सय ७१, खुला प्रतियोगितातर्फ १ हजार २ सय ६ तथा समावेशीतर्फ १ हजार १७ गरी ३ हजार ७ सय २७ पदका लागि आयोगले दरखास्त माग गरेको थियो ।

३ हजार ७ सय २७ पदका लागि परेको ३ लाख ६५ हजार ४ सय ३४ वटा दरखास्तमा देशका ७७ जिल्लाकै सहभागिता रहेको पाइएको लोकसेवा आयोगले जनाएको छ । आयोगका अनुसार लोकसेवाको परीक्षामा सबैभन्दा बढी दरखास्त पर्ने ५ जिल्लामा क्रमशः सप्तरी, धनुषा, सर्लाही, महोत्तरी र सिराहा रहेका छन् । ती पाँच जिल्लाबाट मात्रै कुल ६६ हजार ५ सय ९५ दरखास्त परेको छ ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्