राइड शेयरिङजस्तै अनलाइनबाटै ट्रेकिङ गाइड छान्न पाइने ‘ज्वेल ट्रेक’ एप सार्वजनिक



काठमाडौं,चैत ६ । नेपाल घुम्न आउने पर्यटकले आफ्नो गाइड अनलाइनमार्फत आफै छान्न पाउने भएका छन् । यसका लागि ट्रेकिङ गाइडहरू र पर्यटकलाई लक्षित गर्दै असाबेट टेक्नोलोजीले ‘ज्वेल ट्रेक’ एप सञ्चालन गरेको छ । 

काठमाडौंमा एप सार्वजनिक गर्दै असाबेटले ‘ज्वेल ट्रेक’ ट्रेकिङ सेवा प्रदायकहरूका लागि  ठूलो प्लेटफर्म भएको बताएको छ । यसले ट्रेकरहरूलाई विस्तृत ट्रेकिङ रूट, ट्रेकिङ स्थान लगायतका बारेमा जानकारी दिनेछ । पर्यटकलाई ट्रेकिङ गाइडसँग सम्पर्क गराउन तथा भुक्तानी र बुकिङ सेवा अनलाइनमार्फत गर्नसमेत एपले सहयोग गर्नेछ । 

के हो ‘ज्वेल ट्रेक’ एप, कसरी जोडिने ? 

यो एप पर्यटक, गाइड र एजेन्सीले अनलाइनमार्फत सहकार्य गरी कम खर्चमा अधिकतम सेवा दिने उद्देश्यले बनाइएको कम्पनीले बताएको छ । यो एप प्रयोग गर्ने कुनै पनि ट्रेकिङ गाइडले अन्य ट्रेकिङ एजेन्सीसँग आबद्ध रहनु पर्दैन । पर्यटकले आफ्नो लागि योग्य गाइड आफै छनोट गर्न पाउनेछन् भने गाइडले आफ्नो पारिश्रमिक समेत यसमै प्रस्ताव गर्न सक्ने छन् ।

‘हामीकहाँ धेरै प्याकेज मात्र देखिन्छ, त्यसलाई कस्टोमाइज गर्न खोजिएको हो,’ कम्पनीका प्रोजेक्ट म्यानेजर निराजन दाहलले भने, ‘गाइडलाई थोरै कमिशनमा काम गर्न पाउन भन्ने हो ।’ 

शेयरिङ एपको रूपमा विकास गरिएको यो एपमा यस क्षेत्रमा आबद्ध जोकोहीले पनि प्रयोग गर्न सक्नेछन् । त्यसका लागि उनीहरूले आफ्नो डकुमेन्ट सबमिट गर्नुपर्ने हुन्छ । यसरी सबमिट भएका डकुमेन्टको आधारमा प्रोफाइल तयार हुने छ र उनीहरूलाई एपमा जोडिने छ । उनीहरूको प्रोफाइलकै आधारमा पर्यटकले आफ्नो लागि उपयुक्त ट्रेक गाइड सेलेक्ट गर्ने छन् ।

गाइडको प्रोफाइल बनाइसकेपछि त्यसमा गाइडले नै आफै लगइन गर्न सक्ने छन् । यसमा गाइडलाई रेटिङ दिने व्यवस्था पनि भएकोले जति राम्रो सेवा दिन सक्यो त्यति नै गाइडलाई राम्रो हुने र गाइड अनुशासित हुने दाहाल बताउँछन् । यसरी प्रप्त रेटिङले गाइडको र्‍याङ्किङ पनि निर्धारण गर्ने छ ।

कसरी काम गर्छ एपले ? 

यसमा कुनै ट्राभलरले कुनै पनि प्याकेज बनाउन सक्ने छ भने अन्य ट्राभलर पनि सोही प्याकेजमा जोडिन सक्ने छ । कुनै पर्यटकले अन्य ट्राभलरसँग प्याकेज शेयर गरेर जान चाहेमा पनि यसले सहजीकरण गरिदिने छ । 

कुनै पनि ट्राभलर एजेन्सीले प्याकेज बुकिङ गर्दा गन्तव्य छान्नुपर्छ । त्यसको लागि चाहिने भरिया, खानपानलगायत के कति चाहिने हो भन्ने ट्राभलर आफैले सेलेक्ट गर्न पाउँछ । त्यही अनुसार उसको लागत मूल्य पनि निर्धारण हुँदै जान्छ ।  

यसमा गाइडले आफू उपलब्ध भएको दिन र आफ्नो पारिश्रमिकबारेकाे जानकारी एपमा राख्न सक्नेछन् । पर्यटकले वा एजेन्सीले यसैलाई हेरेर आफ्नो प्याकेज बनाउन सक्ने छन् ।  

हाल गाइड र पर्यटकसँग नियमित सम्पर्कमा हुने भए पनि एपमा जीपीएस ट्र्याकिङमार्फत उनीहरूको अवस्थाबारे जानकारी लिने व्यवस्था भने छैन । हाल फस्ट फेजमात्रै सार्वजनिक भएको र अन्य फेज पनि बिस्तारै लञ्च गर्दै जाने कम्पनीकी फाइनान्सियल एनालिस्ट स्मृति महर्जनले  जानकारी दिइन् ।

जीपीएस ट्र्याकिङ, ‘फाइन्ड द जब, क्रिएट अ जब’ जस्ता सेवा जोड्दै लैजाने योजनासमेत रहेको उनले बताइन् । पछि होटल्स तिनका सेवालगायत सबै जानकारी एपमा राखिने छ । हनी हन्टिङ, बञ्जीजस्ता योजनासमेत यसमा जोड्दै जाने योजना रहेको महर्जनले बताइन् ।  

एप सार्वजनिक कार्यक्रममा बोल्दै असाबेट टेक्नोलोजीजका पीपल अपरेसन निर्देशक मीरा ढकालले ज्वेल ट्रेकलाई नेपालमा ट्रेकिङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने नयाँ प्लेटफर्म भएको बताइन् ।

ईएसआर टेकका डेभिड भेसेले नेपालको ट्रेकिङको वर्तमान अवस्थाबारे चर्चा गर्दै यात्रुहरूले सामना गर्ने समस्याहरू, जस्तै : ट्रेक शुरू हुनुअघि यात्रुहरू र गाइडहरू बीचको सञ्चार र ज्ञानको अभाव र भरपर्दो ट्रेकिङ वेबसाइटहरू उपलब्ध नहुनुजस्ता समस्याहरू रहेको भन्दै यी समस्याहरू ज्वेल ट्रेकले समाधान गर्ने विश्वास व्यक्त गरे । उनले पहिले अवस्थित अनलाइन प्लेटफर्महरूको तुलनामा ज्वेल ट्रेकका विशिष्ट सुविधाहरूको दिएको बताए । 

नेपाल टुरिष्ट गाइड एशोसिएशनका कार्यकारी सदस्य टंकप्रसाद दुवाडीले ज्वेल ट्रेकले नेपालका दुर्गम पदयात्रा गन्तव्यहरू उजागर गर्न र पर्यटन प्रवर्द्धनमा कसरी मद्दत गर्न सक्छ भन्नेबारे जानकारी दिएका थिए ।

नेपाल पर्वतारोहण संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकरले नेपालको पदयात्राको इतिहास र ज्वेल ट्रेकले नेपाललाई विश्वभरका पदयात्रीहरूको मनपर्ने पर्यटकीय गन्तव्य बनाउन मार्केटिङ रणनीति परिवर्तन गर्न मद्दत गर्न सक्ने बताए । 

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालमा गुणस्तरीय टुर अपरेटरहरूका लागि ज्वेल ट्रेकको सम्भावना बनेको बताए । 

कम्पनीका प्रोजेक्ट म्यानेजर निराजन दाहालले हाल कमिशनबिना नै सेवा सञ्चालन भएको र भविष्यमा आवश्यकता अनुसारका सुविधा थप गर्दै लैजाने बताए । उनका अनुसार हाल एपमा ट्रेक गाइड पर्यटकलाई आपसमा सम्पर्क स्थापित गर्ने व्यवस्था मिलाइएको र भुक्तानी सेवा लगायतमा सहजीकरण गरिदिने बताए । 

ट्रेकिङ क्षेत्रमा यस्तो एप सम्भवत: पहिलो भएको भन्दै उनले आगामी आगामी दिनमा अझै परिस्कृत गरिने बताए । एपमा ट्रेक, ट्राभल्स, लोकेसन र त्यसको इन्फर्मेसन थप गर्दै जाने बताए । 

असाबेट टेक्नोलोजीमा लगानीकर्ता तथा BO2 का अध्यक्ष सिद्धान्तराज पाण्डेले ज्वेल ट्रेक टोलीलाई धन्यवाद दिँदै विश्वभर नेपालको प्रतिनिधित्व गर्ने प्लेटफर्म भएको बताए । ज्वेल ट्रेक एप चाँडै प्ले स्टोर र एप स्टोरमा उपलब्ध हुनेछ । 

प्रतिक्रिया दिनुहोस्