रासायनिक मलको अनुदान यथावत्



काठमाडौं,चैत ७ । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । सोमवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको हो ।

चौतर्फी आलोचना र विरोधपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको उक्त निर्णय रोक्दै मन्त्रिपरिषद्ले हाललाई अनुदान यथावत् राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयबारे औपचारिक जानकारी आइनसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्