होटेलहरूलाई सञ्चालन खर्च धान्नै गाह्रो : व्यवसायी



काठमाडौं,चैत ७ । होटेल एशोसिएशन नेपाल (हान)ले होटेल उद्योगहरू सञ्चालन खर्च धान्नै नसक्ने अवस्थामा पुगेको बताएको छ । मूल्यवृद्धि, तरलताको अभाव, पर्यटक, ग्राहक आउन सक्ने वातावरण नहुँदा र वित्तीय संस्थाले साँवाब्याज भुक्तानीको दबाब दिँदा यो क्षेत्र नै धराशयी हुने अवस्थामा पुगेको हानले दाबी गरेको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी ठूला होटेलहरूको छाता संगठन हानले यस्तो धारणा सार्वजनिक गरेको हो । कार्यक्रममा हानका अध्यक्ष सृजना राणाले व्यवसाय सञ्चालन गर्न समस्या रहेको भन्दै धेरैजसो होटेल व्यवसायी यो अवस्थामा कसरी व्यवसाय धान्ने भन्ने चिन्तामा रहेको बताइन् । उनले यो क्षेत्रलाई पुनर्जीवन दिन ऋणको साँवाब्याज भुक्तानीको भाका बढाउनेलगायत कर्जा पुन: संरचना वा पुनर्तालिकीकरण नितान्त आवश्यक रहेको बताइन् ।

बढ्दै गएको ब्याजदर एकल अंकमा झार्न पनि हानले माग गरेको छ । कोभिडले झन्डै ३ वर्ष थला पारेको होटेल उद्योगलाई राज्यका नीति नियमले सम्बोधन नै नगरेको हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । ‘सन् २०१९ को तुलनामा २०२२ मा करीब आधा मात्र पर्यटक आएको तथ्यले सकारात्मक सन्देश दिएको छ,’ उनले भने ।
‘तर, हरेक व्यवसायीले पहिलेको तुलनामा व्यावसायिक लाभ लिन सक्ने अवस्था छैन ।’

देशभरका प्रदेश तदर्थ समितिका अध्यक्ष तथा क्षेत्रीय संघका अध्यक्षको सहभागितामा आयोजना गरिएको कार्यक्रममा व्यावसायिक वातावरण बनाउने गरी सरकारले सघाउनुपर्नेमा जोड दिइयो । बैंक, वित्तीय संस्थाबाट व्यवसाय प्रवर्द्धन र विकासका लागि प्रवाह भएका ऋणको साँवाब्याज भुक्तानीमा थेग्नै नसकिने गरी ताकेता आएकोमा हानले सरकारी निकाय, नेपाल राष्ट्र बैंक र बैंक, वित्तीय संस्थाको ध्यानाकर्षण गराएको छ । अहिलेको असहज अवस्थामा समाधानका लागि गरिएको पटकपटकको बैठक, ज्ञापनपत्र, सुनुवाइलगायत प्रयासलाई सरकारले बेवास्ता गरेको हानको भनाइ छ । ऋणको साँवाब्याज बुझाउने जिम्मेवारी ऋणी स्वयंको भए पनि यसमा सहजीकरण सरकारले गरिदिनुपर्नेमा जोड दिइएको छ । कोभिड अवधिमा स्वास्थ्य प्रोटोकल, लकडाउनजस्ता नियन्त्रणमुखी नीतिनियम सरकारले अवलम्बन गरेकोले व्यवसाय शून्यमा झरेको उनको भनाइ छ । होटेल व्यवसायलाई सरकारी वित्तीय, मौद्रिकलगायत आर्थिक नीति नियममा वास्तै नगरी अन्य उद्योग व्यवसायलाई प्रदान गरिएको व्यवस्था एवं व्यवहारबाट समेत वञ्चित गरिएकाले यो क्षेत्र ह्रासोन्मुख अवस्थामा पुगेको शाहको भनाइ छ । उनका अनुसार अहिले होटेलहरू चलिरहे पनि सञ्चालन खर्च धान्ने गरी आम्दानी गर्न नसक्दा घाटामा छन् । बजारमा धेरै नयाँ होटेलहरूको प्रवेशबाट मागभन्दा आपूर्ति कैयौं गुणाले बढ्दा सेवाको मूल्य घटाउन दबाब परेको पनि उनले बताए । देशको वार्षिक बजेटभन्दा बढी लगानी भइसकेको नेपाली होटेल क्षेत्रलाई सरकारले हालसम्म पनि उद्योगसरहको मान्यता नदिनु अत्यन्त खेदजनक रहेको एशोसिएशनको गुनासो छ ।

हानले सरकार, नेपाल राष्ट्र बैंक, सम्बद्ध बैंक, वित्तीय संस्थाहरू अहिलेकै अडानमा रहिरहे समस्या समाधानमा पहल नहुने बताएको छ । यस्ता निकायको सहयोग नभए होटेल व्यवसाय क्रमिक रूपमा धराशयी हुने निश्चित रहेको पनि संघको भनाइ छ । हानले सदस्य होटेलहरूको हकहित संरक्षणमा व्यवसाय बन्द गर्ने विकल्पमा जानुपर्ने बाध्यकारी परिस्थिति सृजना हुन नदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्