बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी : गभर्नर



काठमाडौं,चैत ७ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको बताएका छन् । ग्लोबल मनी विक २०२३ का अवसरमा सोमवार आयोजित कार्यक्रममा बोल्दै उनले बचतको बानी विकास गर्न युवा विद्यार्थीलाई आग्रह गरे ।

‘राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ । त्यसैले हामीले बचत गर्ने बानी विकास गर्नुपर्छ,’ गभर्नर अधिकारीले सुझाव दिए, ‘बचतले नै लगानी र आम्दानीको बाटो देखाउँछ ।’ हरेक वर्ष मार्चमा साताव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक’को अवसरमा सोमवार राष्ट्र बैंकले विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको हो । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा कार्यक्रम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले युवा विद्यार्थीमाझ वित्तीय जागरण र वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल मनी विकको अभियान महत्त्वपूर्ण अवसर रहेको उल्लेख गर्दै बैंकिङ, पूँजी बजार, बीमाजस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आफूले सिकेका ज्ञान/शीप समाज र परिवारमा समेत बाँड्न आग्रह गरे । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रसँगै राष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण र सहकारी विभागका तर्फबाट वित्तीय चेतना प्रवर्द्धनलाई समेटिएका चारओटा कार्यपत्र प्रस्तुत गरिएको थियो । चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्फत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्