आयात र निर्यात दुवै घट्यो, नेपालको वैदेशिक व्यापार १७.८६ प्रतिशतले खुम्चियो



काठमाडौं,चैत ८ । चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले बुधवार सार्वजकि गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

सो अवधिमा नेपालले १० खर्ब ५८ अर्ब ८५ करोड रुपैयाँको आयात गरेको छ । चालु आवको पहिलो अर्थात साउनदेखि फागुन मसान्तसम्म अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात गरेको हो । जुन गत आवको समिक्षा अवधिको तुलनामा १९.१३ प्रतिशतले कम हो । गत आवको फागुन मसान्तसम्ममा भने १३ खर्ब ८ अर्ब रुपैयाँको आयात भएको थियो ।

यस्तै, चालु आवको फागुन मसान्तसम्ममा भने नेपालबाट १ खर्ब ४ अर्ब रुपैयाँको निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने २९.०७ प्रतिशतले कमी हो । गत आवको समिक्षा अवधिमा भने १ खर्ब ४७ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

नेपालको आयात र निर्यात नै घटेपछि वैदेशिक व्यापार घाटा पनि घटेको विभागले जनाएको छ । चालु आवको फागुन मसान्तसम्मममा नेपालको वैदेशिक व्यापार १७.८६ प्रतिशतले खुम्चिएको छ । योसंगै चालु आवको आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ कायम भएको छ । तर, गत वर्षको समिक्षा अवधिमा भने ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्